शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्यमन्त्रीले हटाएका वीरका निर्देशक डा. पौडेललाई सर्वोच्चको 'स्टे अर्डर'

स्वास्थ्यमन्त्रीले हटाएका वीरका निर्देशक डा. पौडेललाई सर्वोच्चको 'स्टे अर्डर'

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्‍नेतले हटाएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशक डा. सन्तोष पौडेललाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। मन्त्री बस्‍नेतले डा. पौडेललाई हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गरेका थिए। 

National life

स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समयभन्दा अगावै हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो।

'निवेदक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बैठक सञ्चालन, पदाधिकारीको काम, कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०६४ को नियम ११ (२) बमोजिम २ वर्षको पदावधी रहने गरी मिति २०७९/११/०५ को मन्त्रीस्तरको निर्णयानुसार निर्देशक पदमा नियुक्त भएको देखिन्छ। मिसिल संलग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. ९७२ मिति २०८०/०८/१४ को पत्रबाट यी निवेदक निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी भन्ने उल्लेख भएको र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको च.नं. ५६८ मिति २०८०/०८/१७ को पत्रबाट सह-प्रा. डा. श्रवण कुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएको भन्ने देखिँदा यी निवेदकलाई निर्देशक पदबाट नहटाएको भन्न मिलेन,' आदेशमा भनिएको छ, 'निजलाई नियुक्ति गरिएको निर्देशक पद अनुसारको पदीय जिम्मेवारी पुरा नगरेमा वा पद अनुरुपको आचरण पालना नगरेमा वा अन्य कुनै कारणले पदमा कायम राखी राख्न अयोग्य वा उपयुक्त नदेखिने भए अख्तियार प्राप्त अधिकारीले कानुनमा निर्धारित प्रक्रिया अबलम्बन गरी पदबाट हटाउन सक्ने कुरालाई अन्यथा मान्न सकिँदैन। तर निवेदकलाई निर्देशक पदबाट हटाउँदा अवलम्बन गर्नुपर्ने माथि उल्लेखित स्पष्ट कानुनी प्रक्रियाको अवलम्बन गरिएको नदेखिएको।'

आदेशपछि अवधि पूरा नभएसम्मका लागि डा. पौडेललाई निर्देशकका रुपमा काम गर्न अब बाधा नपर्ने देखिन्छ। निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिस्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा मन्त्री बस्नेतले डा. पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय गरेका थिए।

प्रकाशित: Dec 19, 2023| 18:55 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्