मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गठबन्धन बाध्यता हो, कांग्रेसको आन्तरिक समस्या समाधानका लागि बहुमत आवश्यक : अर्थमन्त्री

गठबन्धन बाध्यता हो, कांग्रेसको आन्तरिक समस्या समाधानका लागि बहुमत आवश्यक : अर्थमन्त्री

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन्। नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले यसो भनेका हुन्। 

National life

‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन’, उनले भने।  

‍‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ। एकल बहुमतका लागि हामीले ठूलै जनमत हासिल गर्नुपर्ने उनको भनाइ थियो।

‘कांग्रेसबाट सरकारमा सहभागी भएर काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छन्, आवश्यकता धेरै छन्। तर हाम्रो सामर्थ्य कम छ। देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन। तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौँ’, उनले भने। 

आफूले अर्थमन्त्रालय सम्हाल्दा मुलुकको अवस्था सामान्य नरहेको महतले बताए। 

Laxmi sunrise bank
kumari

‘म अर्थमन्त्री बनेका बेला हाम्रो अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए। त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ’, उनले भने, ‘बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ। घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो। त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो। जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो। तर सधैँ भाउ बढ्ने अवस्था थिएन। त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन्।’

बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ।

‘कांग्रेसले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, हामी जुन संस्थामा लागेका छौं, यो संस्थामा पुरानो र युवा पुस्ता छ। यो पार्टी एउटा परिवारजस्तो पार्टी हो’, उनले भने, ‘नेपाली  लामो समयदेखि दुःखसुखमा हामी सँगै छौं, लामो उठबस भएपछि १९–२० हुनु स्वभाविक हो। ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ। मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन।’

आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभिए कांग्रेसले बहुमत ल्याउन सक्ने महतले बताए। 

‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेवित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ। कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ’ मन्त्री डा. महतले भने, ‘बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ।’ सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ। आम जनताले त्यही झुटोलाई सत्य ठान्छन्। झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न।’ 

प्रकाशित: Dec 19, 2023| 17:30 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्