काठमाडौं- युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको रुसको विपक्षमा रहेको नेपालबाट रुसी सेनामा सयौं युवाहरु भर्ती भएको खुलेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै रुसी सेनामा २०० नेपाली भर्ना भएको बताएका थिए। जसमध्ये ६ नेपालीको मृत्यु भइसकेको छ।
यसरी कुनै द्विपक्षीय सम्झौता बिना नै तेस्रो मुलुकमार्फत रुसी सेनामा भर्ना गर्न पठाएको भन्दै प्रहरीले यसअघि विभिन्न ठाउँबाट १३ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ५ जनाविरुद्ध मात्रै जाहेरी परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ जनालाई पक्राउ गरेर मंसिर २० गते सार्वजनिक गरेको थियो।
जसकारण प्रहरीले सुरुवाती क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। तर अहिले भने पक्राउ परेकामध्ये ५ जनाविरुद्ध जाहेरी आएको परिसरको मुद्दा फाँटका डीएसपी अंगुर जिसीले जानकारी दिए।
पक्राउ परेकामध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भइ काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २३ वर्षीय मनिष न्यौपाने, लमजुङको दोर्दी गाउँपालिका–२ घर भइ टोखा बस्दै आएका ३५ वर्षीय ईश्वरप्रसाद अधिकारी र शंकर लिम्बूविरुद्ध जाहेरी परेको छ।
४ जनाविरुद्ध ठगीको कसुरमा जाहेरी परेको छ। शंकरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी परेको छ। उनीहरुविरुद्ध २ दर्जन व्यक्तिले जाहेरी दिएका छन्। २ दर्जन व्यक्तिले१ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी दिएका छन्।
पक्राउ परेका मध्ये ८ जनाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौं–१६ का २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानीलकण्ठ–१३ का ३१ वर्षीय क्षितिज गिरी, सिरहाको गोलबजार नगरपालिका–३ का १९ वर्षीय दीपेन परियार, काभ्रेको सल्लेभम्लु गाउँपालिका–१ का २९ वर्षीय सुवास लामा, चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय गोकर्ण अर्याल र दाङको घोराही उपमहानगरपालिका–८ का ३८ वर्षीय द्रोण डाँगीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको परिसरका डीएसपी जिसीले बताए।
यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्याउने र त्यहाँबाट रुस पुर्याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ। अर्कोतर्फबाट काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।
रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ। यो गिरोहले विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
यसरी विभिन्न प्रोसेसमार्फत् रुस पठाए वापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको दाबी गरिएको छ। गिरोहले पठाएकामध्ये अहिलेसम्म ११ जना नेपालीहरु भने फर्केर नेपाल आइसकेका छन्।