मंगलबार, वैशाख १, २०८३

धनगढीको मन्दिरमा बसेका केसीले ३ दिनमै तोडे अनशन

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- धनगढीको लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका डा. गोविन्द केसीले तीन दिनमै अनशन तोडेका छन्। विभिन्‍न मागसहित सुदूरपश्चिमको राजधानी धनगढी पुगेका डा. गोविन्द केसीलाई गेटा मेडिकल कलेजमा अनशन बस्‍न नदिइएपछि मन्दिरमा गएर अनशन बसेका थिए। 

National life

गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौँबाट पुगेका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्न दिएको थिएन। संघर्ष समितिले रोकेपछि विवादमा उत्रिएका उनी लक्ष्मीनारायण मन्दिरमा पुगेर अनशनमा बसेका थिए। 

डा. केसीलाई सोमबार स्थानीय रेनुका चौधरी र अन्जली नेपालीले पानी पिलाएर अनशन तोडाएका हुन्। केसी पहिलो पटक आफ्नो आन्दोलनबाट पछि हटेका हुन्। उनले दर्जनौँ पटक अनशन बसिसकेका छन्। तर, यस पटक उनी तीन दिनमै आन्दोलन रोक्ने निर्णयमा पुगेका हुन्। 

गेटामा अवरोधपछि उनी लक्ष्मीनारायण मन्दिर पुगेर तीन दिन मात्रै अनशन बस्ने बताएका थिए। यस पटक केसीले समर्थनभन्दा धेरै विरोध सहनु परेको थियो। यसअघि गत शुक्रबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यले प्रतिष्ठानको विषय केसीलाई आफ्नो मुद्दा नबनाउन आग्रह गरेका थिए। 

सरकारले पटक–पटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिन अनसन बस्ने घोषणा गरेका थिए। 

kumari

केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए। तर आफूहरुले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका थिए।

प्रकाशित: Dec 18, 2023| 16:58 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्