काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रममा उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै पालिकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।
उनले उपत्यकाको विकास एकैपटक गर्न संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए। मेयर बालेनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे। उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।
मेयर बालेनले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि जनाए। उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने धारणा राखे।