सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आफ्नो कुरा नसुनी हिँडेपछि मेयर बालेनसँग रिसाए प्रधानमन्त्री प्रचण्ड

आफ्नो कुरा नसुनी हिँडेपछि मेयर बालेनसँग रिसाए प्रधानमन्त्री प्रचण्ड

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो कुरा नसुनी हिँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्। सोमबार ललितपुर महानगरको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री बोल्नुअघि नै बालेन हिँडेका थिए।

National life

पहिला बोल्ने र प्रमुख अतिथिको कुरा नसुन्नेसँग आफूलाई 'इरिटेसन' हुने प्रचण्डले बताए। ‘बालेन्द्रजी हिँड्नुभयो, पहिला बोलेर हिड्नेसँग अलिअलि इरिटेसन हु्न्छ। आफैंले भन्ने कुरा भनिहाल्ने तर त्यसको जवाफ सुन्न बस्दै नबस्ने गर्नु हुँदैन। बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने समयसम्म बस्नुपर्छ,’ प्रचण्डले भने।

कार्यक्रमको सुरुमै बोलेका बालेनले फोहोर व्यवस्थापन र उपत्यकाका खोलामा भएको अतिक्रमण हटाउन प्रधानमन्त्री र संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए। तर यसमा सरकारले सहयोग नगरेको आरोप उनले लगाएका थिए। ‘केही कुराहरु संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन्। जस्तै- फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गर्दै आएका छौं। त्यसलाई स्थानीय सरकार आफैंले गर्ने कुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीय (प्रधानमन्त्रीज्यूलाई आग्रह र अनुरोध गरेँ। जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौं वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ।’

मेयर बालेनले प्रधानमन्त्रीले चाहेको खण्डमा काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको अतिक्रमण पनि तत्काल हट्ने दाबी गरे। ‘काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन। काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ। एकदिन सबै फुक्छ। कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौं, तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ। ५ मिनेटदेखि १ घण्टामा मात्रै सकिन्छ। त्यो मेयरहरुले मात्रै सक्दैन,’ बालेनले भने।

बालेन आफ्नो भनाइ राखेपछि कार्यक्रमस्थलबाट बारिए। त्यसपछि बोलेका प्रधानमन्त्री प्रचण्डले आफ्नो जवाफ सुन्दै नसुनी बालेन कार्यक्रमबाट बाहिरिएको भन्दै असन्तुष्टि जनाए। ‘बागमतीमा बसेको हस्तक्षेपको कुरा होस् या तीनकुनेको कुरालाई होस् या फोहर व्यवस्थापनको विषय। कतिपटक सिंहदरबारमा बैठक भयो? अहिलेको प्रधानमन्त्री जस्तो सहयोगी कोही छ? काठमाडौंको मेयर हुनुको नाताले तपाईंले पहल गर्नुपर्ने होइन?’ प्रचण्डले बालेनसँग सोधे, ‘मैले सहयोग गर्छु भनेको कुरालाई रिकग्नाइज गर्न के ले रोक्यो ?’

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन र अतिक्रमणको समस्या समाधानका लागि आफूले पहल गरेको तर बालेनले त्यसबारे खुला रुपमा नबोलेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। प्रधानमन्त्रीले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

प्रकाशित: Dec 18, 2023| 13:21 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्