आइतबार, मंसिर २८, २०८२

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

बाँके- पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई वरदान सावित भएको छ। विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान सावित भएको हो।

National life

कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए। उनका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ। 

'भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौं, भक्तपुर, नारायणघाट, हेटौँडासम्म लैजानुपर्ने बाध्यता थियो', अध्यक्ष भट्टराईले भने, 'बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो। अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन।'

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका-२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए। 'शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई वरदान सावित भएको छ', उनले भने, 'यसअघि बीउ जोगाउन काठमाडौं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो।'

यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन्। शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए। 'विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ', उनले भने, 'पहिलेजस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।'

Laxmi sunrise bank
kumari

भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गरे। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उनले जानकारी दिए।

अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजार सात सय १४ सेयर सदस्य रहेका छन्। कुल सेयर पुँजी ९७ लाख ४९ हजार पाँच सय रूपैयाँ रहेको उनले जानकारी दिए। हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो।

'अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ', अध्यक्ष भट्टराईले भने, 'गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ।' जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो।

आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसदमा पहल गर्ने उनको भनाइ थियो। रासस

प्रकाशित: Dec 17, 2023| 21:21 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्