सोमबार, मंसिर २९, २०८२

भरतपुरमा भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

भरतपुर- भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ। भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ।

National life

सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। उनका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन्। ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उनले बताए।

भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उनले जानकारी दिए। यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँछ। भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उनले बताए।

बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ। सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उनको भनाइ छ। उनले भने, “चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ।” भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो। एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।

प्रकाशित: Dec 17, 2023| 20:21 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्