पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषाको सबेला नगरपालिका–२ का ३९ वर्षीय हितेशकुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले शुक्रबार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६२१७ नम्बरको र वाग्मती प्रदेश ०३–००१ख १७२७ नम्बरको बसमा छुट्टाछुट्टै सवार गरी आएका तर्सिम र हितेशको साथबाट अवैध सुन फेला पारेको थियो।
प्रहरीले दुवैको साथबाट ४ सय ८० ग्राम ०.८३ मिलिग्राम बराबर ४९ लाख २२ हजार ६ सय २५ रुपैयाँको अवैध सुन फेला पारेको थियो। सुनसहित तर्सिम र हितेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।