बैंक घोटाला गर्ने चीनका एक म्यानेजरलाई जन्मकैदको फैसला सुनाइएको छ। बीबीसीका अनुसार दक्षिणी चीनको एक शाखामा म्यानेजरको रुपमा सन् १९९३ देखि सन २००१ सम्म काम गरेका सु काओचुनलाई उक्त फैसला गरिएको हो।
साढे ३२ करोड अमेरिकी डलर किर्ते ऋण बनाएर हिनामिना गरेको पाइएपछि उनलाई जन्मकैद भएको हो। यसलाई चिनियाँ राष्ट्रपति सी चीनफीङको भ्रष्टाचार विरोधी अभियानको एक अंगको रुपमा बताइएको छ।
सन् २००१ मा सु अमेरिका भागेका थिए। तर, उनलाई चीन ल्याएर अदालती प्रकृयामा सामेल गराइएको थियो। चीनमा पछिल्लो समय आर्थिक क्षेत्रमा भएका घोटालामा शक्तिशाली अदालती फैसलाहरु आएका छन्। तीन महिना अगाडि चाइना बीमा संस्थानका अध्यक्ष वाङ पीनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो।