काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
शुक्रबार २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरेका हुन्। उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह पनि गरे।
‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्। काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्। तीमध्ये तीन वटा विशेष कामहरू जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्। महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस्। साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ,’ उनले भने। मेयर शाहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको बताएका छ। महानगरपालिकाले गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।
‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उनले भने।