वन्यजन्तु अवलोकनका लागि देशको मुख्य गन्तव चितवन निकुञ्जको प्रमुख नाका सौराहामा पुस १० गतेदेखि १४ गतेसम्म १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ। क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना हुँदै आएको क्षेत्रीय होटल संघ चितवनले जनाएको छ।
क्षेत्रीय होटल संघले आयोजना गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) नेपाल चितवन शाखा रहेका छन्। क्षेत्रीय होटल संघले सुरूमा सौराहामा हात्ती दौडका नाममा कार्यक्रम गर्थ्यो। हात्ती दौड हात्तीको स्वभाव अनुकूलको कार्यक्रम नभएको भनेर संरक्षणकर्मीहरूले प्रतिवाद गरेपछि स्वरूप बदल्दै महोत्सवको रूप दिइएको हो।
यस पटक महोत्सवका सबै गतिविधि हात्तीका लागि अनुकूल हुने खालका रहेको महोत्सव आयोजक समितिले जनाएको छ। सौराहाको पर्यटनको आधार नै हात्ती हो। निकुञ्ज घुम्न आउने लाखौँ पर्यटकमध्ये अधिकांस हात्ती सफारी गरेर जंगल डुल्छन्। त्यसैगरी निकुञ्जमा जंगली हात्ती पनि ओहोरदोहोर गर्छन्।