सोमबार, असार २२, २०८३

बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई  छाड्न आदेश दिएको छ। 

बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो। मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा उनीबारे निर्णय हुन सकेको थिएन। 

खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा  छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्को इजलासले यसबारे निर्णय गरेको हो।  

खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले धरौटी बुझाउन नसकेपछि थुनामै छन्।

उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरू धरौटी बुझाएर छुटिसकेका छन्। 

उच्चले लक्ष्मी महर्जन, ट‌ंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको थियो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको थियो। पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। 
 

प्रकाशित: Dec 14, 2023| 17:08 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्