सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गाजामा तत्काल युद्धविराम गर्न राष्ट्रसंघको माग, नेपालको समर्थन

गाजामा तत्काल युद्धविराम गर्न राष्ट्रसंघको माग, नेपालको समर्थन

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ। यसमा नेपालले समर्थन गरेको छ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन्। राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३, विपक्षमा १० र तटस्थ २३ राष्ट्र बसेका थिए।

गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको छ। नेपालका दुई ठूला छिमेकी भारत र चीनले पनि प्रस्तावको पक्षमा मतदान गरी गाजामा युद्धविराम गर्नुपर्ने सन्देश दिएका छन्।

मंगलबार भएको मतदानमा अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो। राष्ट्रसंघको महासभामा हुने मतदान राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। तर यो बाध्यकारी भने हुँदैन। इजरायलले गाजामा आक्रमण रोकी युद्धविराम गर्न नमानिरहेका बेला राष्ट्रसंघको महासभाले विश्व समुदाय युद्धविराम र शान्तिको पक्षमा रहेको सन्देश दिएको छ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा गत साता भएको मतदानमा बहुमत सदस्यले युद्धविरामको प्रस्तावको पक्षमा मतादन गरेका थिए। तर अमेरिकाले भिटो प्रयोग गरी त्यसलाई असफल बनाएको थियो। सुरक्षा परिषद्‍मा १५ सदस्य हुन्छन्, जसमध्ये पाँच स्थायी सदस्य हुन्छन्। सुरक्षा परिषद्‍मा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन्। स्थायी सदस्यलाई भिटो प्रयोग गर्ने अधिकार हुन्छ।

इजरायल र हमासको युद्ध तेस्रो महिनामा प्रवेश गरेको छ। यसअवधिमा १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन्। अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासले अचानक इजरायलमा आक्रमण गरेपछि इजरायल–हमास युद्ध सुरु भएको थियो। हमासको आक्रमणमा दश नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। एकजना नेपाली विद्यार्थी विपीन जोशीलाई अझै हमासले बन्धक बनाएको छ।

 

प्रकाशित: Dec 13, 2023| 17:18 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्