बुधबार, फागुन २८, २०८१

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

जलेश्वर (महोत्तरी)- मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ।

health

महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनककी छोरी सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन रहँदै आएको छ। सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ।

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने चलन छ। प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन  छ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ। आगामी आइतबार जनकपुरमा हुने विवाह पञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेका छन्। अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ। जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले बताए।

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउने गर्दछन्। विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजन उत्सवमा सहभागिता जनाउने गर्दछन्।

विवाह पञ्चमी उत्सवअन्तर्गत यसपालि यही मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि तथा आगामी पुस १ गते स्वयम्वर तथा विवाह पञ्चमी (शुभविवाह) र पुस २ गते राम कलेवाको कार्यक्रम तय गरिएको छ।
 

प्रकाशित: Dec 13, 2023| 10:20 बुधबार, मंसिर २७, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्