काठमाडौं- वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापा नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो।
महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो। मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो। यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो।
कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो। हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ।
कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए। ‘खाली कोठामा ताला नै झुन्ड्याइएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन्, ‘मंगलबार ताला खोलाएर पञ्जीकरण शाखा बनाउने विषयमा विवाद भएको हो।’
पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो। विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए। प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन्। गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए।