काठमाडौं- भारतीय विदेश मन्त्री एस जयशंकर आगामी पुस तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन पुस १९ गते भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन्। मन्त्रीस्तरीय छलफलमा दुई देशबीच भएको सन्धि सम्झौता, व्यापार तथा आर्थिक समझदारीको विषयमा छलफल हुने बताइएको छ।
त्यसमा मुख्य विषय जलस्रोत नै हुने जनाइएको छ। भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षरसमेत हुने बताइएको छ। त्यसको तयारीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिसकेको छ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले १० हजार मेगावाट बिजुली नेपालबाट खरिद गर्ने समझदारी भएको थियो। १० हजार मेगावाट बिजुली खरिद गर्ने भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीले यसबारे केही दिनपछि आफ्नो क्याबिनेटबाट निर्णयसमेत गराएका थिए। अहिले विदेश मन्त्री जयशंकरले नेपाल भ्रमणका क्रममा त्यस विषयमा सम्झौतापत्रमा हस्ताक्षरसमेत गर्ने भएका छन्।
जयशंकरको भ्रमणका क्रममा राजनीतिक भेटघाट पनि हुने बताइएको छ। मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटघाट गर्नुको साथै भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।
तर परराष्ट्रले मन्त्रालयले भारतीय विदेशमन्त्रीको भ्रमणका बारेमा अहिले छलफल भइरहेको र कार्यक्रमहरु निर्धारित हुन बाँकी रहेको जनाएको छ।