बुधबार, वैशाख २, २०८३

जहाँ बिजुलीबाट पंखा, टिभी र मोटर चल्दैन

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन्। नियमित रूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन्।

National life

विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन्। एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गरे। 'पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छौं, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ', उनले भने, 'यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुन सकेको छैन।' दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उनले बताए।

'पोलमा विद्युत्का दुईवटामात्रै तार तानिएका छन्', स्थानीय हेमराज जोशीले भने, 'विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुनसकेको छैन।' तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उनको माग छ।

विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन्। 'विद्युत् सेवा सहज भए विद्युतीय मोटरबाट पानी तान्न सस्तो पर्ने थियो', स्थानीय मानसिंह जाग्रीले भने, 'महँगो डिजेल इन्जिन खरिद गरी सिँचाइको व्यवस्था गर्नुपर्ने बाध्यता छ।'

वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताए। 'प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्', उनले भने, 'एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडानको कार्य हुन्छ।'

kumari

सिकलपट्टिका बासिन्दाको विद्युत्को समस्या समाधान गर्नका लागि पटक–पटक विद्युत् कार्यालयसम्म पुगेको उल्लेख गर्दै उनले पटक पटक पचात्रार गरिएको बताए। धेरै पहलपछि सङ्घीय सरकारका तर्फबाट ‘ट्रान्सफर्मर’ उपलब्ध हुन लागेको उनको भनाइ छ।
 

प्रकाशित: Dec 12, 2023| 11:31 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्