सोमबार, असार २२, २०८३

एमालेको संकल्प यात्रामा अवरोध, खोटाङमा सडक अवरुद्ध

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- नेकपा एमालेको मध्य पहाडी लोकमार्ग यात्राको प्रतिरोधमा पहिचान पक्षधरले खोटाङ बन्द गराएका छन् भने ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध पारेका छन्।

पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण खोटाङमा आज बिहानैदेखि यातायात ठप्प भएको छ। एमालेले सञ्चाल गरिरहेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो।

समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत एमालेले आज घुर्मीमा बृहत् जनसभा गर्ने तयारी गरेको छ। त्यसकै विरोधमा प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन्।

कोशी प्रदेश नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले सोमबार राति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेको छ। 

पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ।

पहिचान पक्षधरको बन्दका कारण जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्। बन्दलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: Dec 12, 2023| 09:25 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्