काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हमासको बन्धकमा रहेका विपिन जोशीलाई छुटाउनको लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीलाई आग्रह गरेका छन्।
२१ औं दोहा फोरममा सहभागी हुन पुगेका मन्त्री साउदले कतारका प्रधानमन्त्रीसँग सोमतबार शिष्टाचार भेटवार्ता गर्दै उक्त आग्रह गरेका हुन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीको पनि मृत्यु भएको थियो। साथै, सोही दिन जोशीलाई पनि बन्दी बनाएर हमासले लगेको थियो।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवं कतार र नेपालबीचको जनस्तरलगायतको सम्बन्ध गहिरो रहेको उल्लेख गरेका थिए। साथै उक्त भेटवार्तामा दुई मुलुकबीचको मित्रवत् सम्बन्धका आधारमा अहिलेको मानवीय मामिलामा कतारसँग नेपाल सरकारको उच्च आशा रहेको पनि बताएका थिए।
जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको उल्लेख गरे। उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेत समेत पनि गरे। उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए।
परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमासमेत कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।