काठमाडौं- केही दिनको युद्धविराम सकिएसँगै इजरायली सेनाले गाजाको दक्षिणी भेगमा अवस्थित खान यूनिस सहरमा आक्रमण सघन पारेको छ। इजरायलले गाजामा बम आक्रमण गरिरहेकाले फेरि युद्धविराम गर्नका लागि समय घर्किंदै गएको कतारका प्रधानमन्त्रीले बताएका छन्।
दोहा फोरममा बोल्दै शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीले कतारले दुवै पक्षलाई लडाइँ रोक्न दबाव दिइराख्ने बताए। कतारले दुवै पक्षबीच नोभेम्बर महिनाको अन्तिम साता संघर्षविराम गराउन मध्यस्थता गरेको थियो। एक साताका लागि लडाइँ रोकिँदा दर्जनौं बन्धक मुक्त भएका थिए। थुप्रै बन्दी रिहा हुँदा पनि नेपालका विपिन जोशी भने अझै हमासको नियन्त्रणमा रहेको विश्वास गरिएको छ। गत नोभेम्बर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने जोशीलाई हमासले अपहरण गरेर लगेको थियो।
उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध उत्कर्षमा पुगेको टिप्पणी गरेका छन्। हमासका लडाकुलाई आतंककारीको संज्ञा दिँदै उनले केही दिनयता दर्जनौं लडाकुहरूले आत्मसमर्पण गरेको र इजरायलका वीर योद्धाहरूसमक्ष हतियार बिसाएको दाबी गरेका छन्।
इजरायलले सर्वसाधारण प्यालेस्टिनीलाई मध्य खान यूनिसबाट अन्यत्र जान भनेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य निकायले लडाइँ सुरु भएयता झन्डै १८ हजार प्यालेस्टिनीको मृत्यु भएको जानकारी दिएको छ। अल जजीरालाई एउटा श्रव्य सन्देश पठाउँदै हमासको सैन्य विभागले यसअघि भएको अस्थायी युद्धविरामले आफ्नो औचित्य पुष्टि गरिसकेको र इजरायल वार्तामा नआएसम्म अरू बन्धकलाई मुक्त नगरिने जनाउ दिएको छ।
उक्त सन्देशमा हमासका प्रवक्ता अबु उबैदाले इजरायलका १८० वटा सैन्य सवारीसाधन हमासका लडाकुले ध्वस्त पारेको वा आंशिक रूपमा बिगारिदिएको र ठूलो संख्यामा इजरायली सैनिकको ज्यान लिएको दाबी गरेका छन्। हमासले अझै इजरायललाई ठूलो क्षति पुर्याइरहेको दाबी गर्दै उनले अब हुने कुरा अझै ठूलो हुने चेतावनी दिएका छन्।
दोहामा आयोजित सम्मेलनमा बोल्दै प्यालेस्टिनी शरणार्थीसँग सम्बन्धित मामिला हेर्ने राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाज्जरिनीले गाजा क्षेत्र पृथ्वीको नरक बनेको र त्यहाँको अवस्था आफूले देखेको सबैभन्दा खराब रहेको बताए। सोही कार्यक्रममा बोल्दै प्यालेस्टिनी प्रधानमन्त्री मुहम्मद उश्टाइयाले इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गरिरहन दिन नहुने भन्दै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन आह्वान गरे। प्यालेस्टिनी प्रशासनले वेस्ट ब्यांकमा शासन गर्छ भने हमासको सरकार गाजामा केन्द्रित छ।
दोहामा सम्मेलन भइरहँदा गाजाको दक्षिणी भेगमा लडाइँ चर्किएको थियो। खान यूनिसका बासिन्दालाई लडाइँबाट जोगिन सहरको मध्य भागबाट बाहिर जान भनिएको थियो। उक्त स्थानमा इजरायलले सघन हवाई आक्रमण गरिरहेको छ। उक्त सहरको मध्य भागमा आइतबार इजरायली ट्यांकहरू पुगेका थिए। उक्त सहरमा अहिले मानिसहरूलाई संघर्षमा मारिएका आफन्तको शव खोज्दै र शोक मनाउँदै गरेको देखिन्छ।