मंगलबार, असार २३, २०८३

भोकमरीको चपेटामा गाजाको आधा जनसंख्या 

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- संयुक्त राष्ट्र संघका एकजना वरिष्ठ सहायता अधिकारीले लडाइँ जारी रहँदा गाजाको आधा जनङ्ख्या भोकमरीको चपेटामा परेको चेतावनी दिएका छन्।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका उप कार्यकारी निर्देशक कार्ल स्काउले गाजामा आवश्यक पर्ने खाद्यान्न आपूर्तिको एउटा सानो अंश मात्र त्यहाँ प्रवेश गर्न पाएको बताए। उनका अनुसार त्यहाँ अहिले १० जनामध्ये ९ जनाले दैनिक खानेकुरा खान पनि पाएका छैनन्।

इजरायलले गाजाबाट हमासलाई समाप्त पार्न र आफ्नो देशका बन्धकहरूलाई मुक्त गर्न गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ। इजरायल डिफेन्स फोर्स आईडीएफका प्रवक्ता रिचर्ड हेचले भने, 'कुनै पनि सामान्य नागरिकको मृत्यु पीडादायी हुन्छ तर हामीसँग विकल्प छैन।'

नागरिकहरूको ज्यान जोगाउनका लागि 'गाजा स्ट्रिपमा आफूले सक्दो प्रयास गरिरहेको' उनले दाबी गरे। आईडीएफका प्रमुख हर्जी हेलेभीले सेनालाई "कडा दबाब दिनुपर्छ" भन्दै गरेको भिडिओ देखिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले इजराललाई अस्त्र बिक्री गर्नका लागि त्यहाँको कङ्ग्रेसलाई छल्न आपत्कालीन कानुनको प्रयोग गरेको छ। अमेरिकाले इजरायललाई १० करोड ६० लाख अमेरिकी डलरभन्दा बढीका अस्त्रहरू दिने भएको छ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गरेर एक हजार दुई सय जनाभन्दा बढीको ज्यान लिनुका साथै २४० जनालाई बन्धन बनाएपछि गाजामा आवतजावतका लागि इजरेलले व्यापक प्रतिबन्ध लगाएको छ। अक्टोबर ७ पछि इजरायलले गाजासँगको आफ्नो सिमाना बन्द गरेर त्यस क्षेत्रमा हवाई हमला थालेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली हमलाका कारण हालसम्म ७ हजार जनाभन्दा बढी बालबालिकासहित १७ हजार ७ सय भन्दा धेरै गाजावासीहरू मारिएको जनाएको छ।

प्रकाशित: Dec 10, 2023| 17:37 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्