बिहीबार, पुस ३, २०८२

डुंगा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

मुगु- नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुंगा यात्रा गरी पर्यटक रमाउने गरेका छन्।

National life

मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुंगा चढेर वारपार गरी रमाउने गरेका हुन्। पर्यटकले डुंगामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाइफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन्।

चितवनबाट रारा तालमा घुम्न आएका र्‍याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, 'तालमा डुंगाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ। यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन्। एक पटकमा दश जनासम्म बोक्ने डुंगाको क्षमता भए पनि यहाँ १४/१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ।'

क्षमता भन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए। 'लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातिमा बाँध्ने फिता नभएका अवस्थामा छन्', उनले भने, 'यसले कुन बेला दुर्घटना निम्ताउँछ। सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ।' यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्‍याफ्टिङ गाइड गुरुङको भनाइ थियो।

'म ८० जनाको टिम लिएर रारा आउँदैछु। यस्तो अवस्था देखे के भन्लान्? समयमै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ', पर्यटन घुमाउन ल्याउनुपूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने। यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताए।

Laxmi sunrise bank
kumari

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुंगा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ। नाम बताउन नचाहने डुंगा चालक भन्छन्, 'यहाँका डुंगा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ। लाइफ ज्याकेटका बारेमा निकुञ्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन।'

समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्यांकअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुंगा रहेका जानकारी दिए। 'निकुञ्जले ज्याकेट खरिद गरेको छ/सात वर्ष पुगिसकेको छ', उनले भने, 'कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन।' डुंगाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो।

निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आएजस्तो सबै सत्यता नभएको बताए। सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दा र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो।

यहाँ रहेका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे। गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Dec 10, 2023| 22:02 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्