काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ। प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए।
आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो।
अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले जानकारी दिए। यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको उनको भनाइ छ।
न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो। उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ।