काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सिरहा, औरही गाउँपालिका-२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो। साथै घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको छ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-००१ क ४५२५ नम्बरको ट्रकमा को.२० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २८ वर्षीय विक्रम माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, राजपुर गाउँपालिका-१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने ७० वर्षीया गोमा कुमारी भण्डारीको शुक्रबार राती मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ खानेपानीस्थित सडकमा बा.७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर सोही नगरपालिका-९ जामिरे बस्ने ३५ वर्षीय भिमसेन बिश्बकर्माको शनिबार बिहान मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पताल हुँदै नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।