मंगलबार, असार २३, २०८३

प्रहरीद्वारा गाँजाखेती नष्ट

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

सर्लाही- सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले  गाँजा खेती नष्ट गरेको हो। 

नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको  सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए।

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन्। सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन्।

सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन।

प्रकाशित: Dec 09, 2023| 08:59 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्