काठमाडौं- संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो।
नेपालविरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्तासँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको थियो। सुनुवाइपछि समितिले सर्वसम्मत रुपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए।
गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।