आइतबार, वैशाख ३०, २०८१

हात्तीबाट ज्यान जोगाउन रातभर जाग्राम

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

विराटनगर- साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि मोरङको भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ। दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रासमा बाँच्न बाध्य छन्।

triton college

बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दाहालले दश कट्ठा जमिनमा लगाएको मकै हात्तीले सोत्तर बनाएको छ। ‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ’, दाहालले भने। बिहीबार राति स्थानीय रबिन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको छ। दाहाल भने, ‘राति खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाले, हामीले भागेर ज्यान बचायौँ।’

आज बिहान मोरङको बेलबारी–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बस्तीमा आएका जङ्गली हात्तीलाई बस्तीभन्दा टाढा बासस्थानतर्फ चाँडै धपाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

साथै हात्तीले पुर्‍याएको क्षतिको उचित क्षतिपूर्ति दिइने मुख्यमन्त्री कार्कीले बताए। बेलबारी–८ र १० मा मात्रै बिसौँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पुर्‍याएको बेलबारी–१० वडाध्यक्ष गङ्गाबहादुर याखाले बताए। केही दिनदेखि दैनिक रुपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका साथै स्थानीयले प्रयास गरिरहे पनि पार नलागेको वडाध्यक्ष याखा बताउँछन्।

मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ। यहाँका स्थानीय मकै र केरालाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेको बेलबारी–१० भाउन्नेका अशोककुमार सुब्बा बताए। बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्ठा जमिनको मकै गएराति आएका जङ्गली हात्तीले सखाप बानाएको सुब्बाले बताए।

corrent noodles
Metro Mart

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक/एक गरी चारजनाको मृत्यु भइसकेको छ। यही मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो। शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।

यस्तै, मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रबिन खड्काको मृत्यु भएको थियो। चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो। प्रहरीका अनुसार इटहरीको वडा नं १९, २०, २ र ३ मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ।

मङ्सिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो। जङ्गलबाट आएको एउटा हात्तीले वनलाई लछारपछार गरी कुल्चिएर मारेको हो। मङ्सिर १८ गते बिहान मात्रै मोरङको बेलबारीमा एकजनालाई हात्तीले मारेको छ। लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन्। लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ। दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन्।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालित छ।   -रासस

प्रकाशित: Dec 08, 2023| 20:41 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्