आइतबार, मंसिर २८, २०८२

सम्झौता सकिँदा पनि कालोपत्रे सकिएन डुम्रे-बे‌सीसहर-चामे सडक

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

तनहुँ- डुम्रे-बेँसीसहर-चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ। यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

National life

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रेको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए। दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्रे गरिएको उनले बताए।

भानु-३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्रे गरिसकिएको अधिकारीले बताए। भानु-१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रेका लागि सम्याउने र पुरानो कालोपत्रे हटाउने काम भइरहेको उनले बताए। असार मसान्तसम्ममा कालोपत्रे सकिने गरी काम भइरहेको उनले जानकारी दिए।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ। उनले भने, 'केही स्थानमा कालोपत्रेका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ।' यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्रे गरिने अधिकारीले बताए।

कुल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्रे सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्रे गरिसकिएको उनले जानकारी दिए। उनका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ।

Laxmi sunrise bank
kumari

एम/एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ। विसं २०७८ बैशाख २२ मा ठेक्का सम्झौता भइ विसं २०७८ बैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो। विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्रे सम्पन्न गर्ने गरी ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रेको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो। ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिए। उनले भने, 'सम्झौताको मिति सकियो, तर कालोपत्रे सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ।' करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको उनले जानकारी दिए।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रुपमा रहेको छ। तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ। यस सडक खण्डको तनहुँतर्फ कालोपत्रे सकिएपछि सहज रुपमा यात्रा गर्न सकिने जनाइएको छ। रासस

प्रकाशित: Dec 07, 2023| 22:55 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्