सोमबार, मंसिर २९, २०८२

केन्द्रीय कारागारमा २६१ विदेशी कैदीबन्दी

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन्। विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो।

National life

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए। केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन्। उनका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बङ्गलादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन्।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक/एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउछन्।

विदेशी कैदीबन्दीमध्ये लागूऔषधका धेरै
कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन्। उनका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन्। त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ। त्यसबाहेक अवैध रूपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन्।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउछन्। नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन्। केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहे पनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ।

Laxmi sunrise bank
kumari

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन्। महिला जेलमा ११ नाबालक कैदी बन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदी बन्दीको सङ्ख्या बढ्न गएको बताउछन्। ‘अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्’, उनी भन्छन्।

प्रकाशित: Dec 06, 2023| 10:41 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्