मंगलबार, असार २३, २०८३

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण शुरू भएको छ। प्रतिनिधिसभा क्षेत्र नं १ का  सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरेका छन्। सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरे।

गत वर्ष शुरू भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ। पूर्वसभामुख अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रयासमा जुगल गाउँपालिका–३ का गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नहुँदै जुगल हिमाल आरोहणमा सहभागी भएका सापकोटाले सो क्षेत्रमा बिजुली ल्याउने प्रतिबद्धता चुनावताका गरेका थिए। विद्युतीकरण शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङबो, विद्युत् प्राधिकरण लामोसाँघु वितरण केन्द्रका प्रमुख दीपक सापकोटा, माओवादीका जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, पदम श्रेष्ठलगायत सहभागी थिए।

माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको छ। यही रफ्तारमा काम हुँदा आगामी वैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताए। चर्चित जुगल पर्यटकीय क्षेत्र हिमाल जाने बाबाखर्क, क्याङसिङ र गुम्बाका तीन सय घरमा बिजुली पुगेपछि पर्यटकलाई सहज भएको छ।

प्रकाशित: Dec 06, 2023| 10:02 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्