बुधबार, असार २४, २०८३

जेलबाट छुटेकै दिन मनकुमारीको हत्या गरेका शिवबहादुर समातिए

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं- बलात्कार र चोरीको कसुरमा दोषी ठहर भई सजाय भुक्तान गरेपछि कारागारबाट छुटेका एक जनालाई प्रहरीले हत्या अभियोगमा पुन: पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङकी ६२ वर्षीय मनकुमारी सार्कीको हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार बस्यालले कारागारबाट छुटेको दिन मंसिर १४ गते मनकुमारीको हत्या गरेका थिए। मनकुमारीको हत्या अभियोगमा प्रहरीले बस्यालबाहेक अन्य २ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य २ जनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङकै ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली छन्। 

मंसिर १५ गते बिहान ९ बजेतिर मनकुमारी आफ्नै घरमा मृत फेला परेकी थिइन्। त्यसपछि इन्सपेक्टर अभय लामाको कमाण्डमा घटनाको अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानको क्रममा शिवबहादुरको संलग्नता देखिएपछि प्रहरीले उनलाई गोलाङबाटै पक्राउ गरेको थियो।

पक्राउ परेका शिवबहादुरले टोपबहादुर र सुनिलको योजनाअनुसार आफूले मनकुमारीको हत्या गरेको बताएपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

हत्यामा प्रत्यक्ष संलग्न जोडिएका शिवबहादुर मंसिर १४ गतेमात्रै बलात्कार र चोरी घटनामा जेल परेर छुटेका व्यक्ति रहेको खुलेको छ। उनी २० महिना कारागार बसेर रिहा भएका थिए।

प्रकाशित: Dec 05, 2023| 11:49 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्