बुधबार, असार २४, २०८३

अनिताले अटो चलाएर फर्काइन् विदेशिएका श्रीमान् 

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ। उनी भन्छिन्, 'जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ।' उनी छोरी सँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छिन्। छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ। 

महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ। 'अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु', उनले भनिन्, 'महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन्।'

अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ। आम्दानी बढेको छ, घर–घडेरी जोडिएको छ। छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाइ देखेर स्वदेश फर्किएका छन्। 'पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु', उनले भनिन्, 'मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौं।'

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन्। 'लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ', उनले भनिन्, 'महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन्।'

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ। यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ। अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन्। गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन्। सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन्। - रासस

प्रकाशित: Dec 05, 2023| 11:35 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्