सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वी राजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्रे थालियो

पृथ्वी राजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्रे थालियो

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

तनहुँ- पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रेको काम सुरु गरिएको छ।

National life

आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्रे अघि बढाएको हो। यसअघि आँबुखैरेनी गाउँपालिका-१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दुरीमा कालोपत्रे सम्पन्न गरिसकेको छ।

अब गरिने चार किलोमिटर दुरी कालोपत्रे काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ। जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब ६ किलोमिटर दुरी एकतर्फी कालोपत्रे केही समय अघि सम्पन्न भएको थियो।

बन्दीपुर-१ नाहालादेखि व्यास-१२ छिर्कनसम्मको उक्त दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो। तिहारअघि तीन किलोमिटर र तिहारपछि तीन किलोमिटर दुरीमा कालोपत्रे सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्रे गर्न थाले पनि एकतर्फी पूरै कालोपत्रे गर्ने कार्य बाँकी छ। बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्रे गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ।

Laxmi sunrise bank
kumari

'बिजुलीको खम्बा हटाइएको, घर भत्काएर खुला भएका स्थानमा काम गर्दै जाने योजनाअनुरुप निर्माण र कालोपत्रका कार्य अघि बढाइएको छ', इन्जिनियर पाण्डेले भने, 'उक्त खण्डमा हालसम्म ३६ प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ।'

'सडकका दायाँबायाँ कटिङ गर्ने र कल्भर्ट राख्नेलगायतका कार्य सम्पन्नपश्चात कालोपत्रे कार्य अघि बढाइएको हो', उनले भने, 'कालोपत्रे गर्नुपूर्व समाबेस र बेस प्रयोग गरी रोलिङ गरेर सुकेपछि बिटुमिनको झोल राखेर कालोपत्रे गरिन्छ।' 

उक्त राजमार्गको पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी दुरीमा सडक विस्तारका कार्य भइरहेको छ। पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो।

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का लागेको हो। सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यसखण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको इन्जिनियर पाण्डेले जानकारी दिए।    -रासस

प्रकाशित: Dec 04, 2023| 18:48 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्