मंगलबार, पुस १, २०८२

धरानमा शीतगृहमा राखिएका एक करोड रूपैयाँभन्दा बढीको फूल नष्ट

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

धरान- धरानमा किसानका एक करोड रूपैयाँभन्दा बढीको फूल नष्ट भएको छ। कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन्।

National life

धरान उपमहानगरपालिका-२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलंका टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्थानीय फूल व्यवसायीले यसपटकको तिहारका लागि छ लाख थान माला बनाउन पुग्ने सयपत्री फूल धरानस्थित शीतगृहमा भण्डारण गरेका थिए।

त्यसमध्ये करिब चार लाख माला उन्न पुग्ने फूल बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। बाँकी दुई लाख थान मालाका लागि पुग्ने फूल बिक्री नहुँदा नष्ट भएको उनको भनाइ छ। भण्डारण गरिएका फूल कुहिन थालेपछि नष्ट गरिएको उनले बताए।

व्यवस्थापक भट्टराईका अनुसार विगतका वर्षमा धरानमा करिब पाँच लाख माला उन्न पुग्ने सयपत्रीको फूल बिक्री हुने गरेको थियो। अघिल्लो वर्षको तिहारमा चार लाख ५० हजार थान माला बनाउन पुग्ने फूल बिक्री हुँदा दुई करोड रूपैयाँको कारोबार भएको थियो। 'यसपालि करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो। किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए। त्यसैले करिब छ लाख मालाको फूल कृषिउपज बजारमा आएको थियो। तर सोचे जस्तो भएन', भट्टराईले भने, 'विगतमा माला लगाउनमात्र नभई घर सजावटका लागि पनि धरानमा सयपत्रीका धेरै फूल बिक्री हुने गरेको थियो तर यसपटक मालाका लागि बिक्री भए पनि घर सजावटका लागि कम बिक्री भए।'  

बजारमा देखिएको आर्थिक मन्दीको असर फूलका कारोबारमा परेको उनको भनाइ छ। 'पहिले फूल रोप्न हौसिएका किसान यसपालि निराश भएका छन्', उनले भने।

Laxmi sunrise bank
kumari

बराहक्षेत्र-९ श्रीलंका टप्पुमा एक बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका किसान कुमारमगरले पनि धरानको कृषि बजारको शीतगृहमा सयपत्री फूल भण्डारण गरेका थिए। रैथाने सयपत्री फूलखेती गरेर आर्थिक आम्दानी गरौँला भन्ने सपना देखेका कृषक मगरले यसपालि सोचेजस्तो व्यवसाय नभएको गुनासो गरे। 'उत्पादन भएकामध्ये ७५ प्रतिशत फूल नष्ट भएपछि लाखौँ रकमको नोक्सानी बेहोर्नुपर्‍यो', उनले भने। 

धरान कृषिउपज बजारको तथ्यांकअनुसार विगतमा धरान बजारमा फूलको माग उच्च थियो। स्थानीय उत्पादनले नपुगेर अघिल्लो वर्षमात्र हाइब्रिड सयपत्री फूलका डेढ लाख माला भारतको कोलकत्ताबाट आयात गरिएको थियो। 

यसपालि भने स्थानीय कृषक, कृषि समूह, कलेजका विद्यार्थीको समूहलेसमेत फूलखेती गरेका थिए। स्थानीय उत्पादन पर्याप्त भएपछि धरानमा यसपटक भारतबाट सयपत्री फूल आयात प्रतिस्थापन भए पनि स्थानीय फूल कृषकले कम मूल्य पाएकाले नोक्सानी बेहोर्नु परेको कृषि बजारका व्यवस्थापक भट्टराईले बताए।

प्रकाशित: Dec 04, 2023| 16:30 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्