शनिबार, साउन १२, २०८१

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

झापा- पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ। यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्यांकन गर्ने कार्य सुरु भएको छ।

triton college

जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो। सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन्।

एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी)को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्यांकनको काम सुरु गरिएको वन कार्यालयका अधिकृत ऋषिराज पराजुलीले जानकारी दिए। उनले वन विभागबाट प्राप्त भएको पत्रका आधारमा कार्यालय मातहतका सबडिभिजनका कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको बताए।

मेचीनगर सबडिभिजन कार्यालयले काँकरभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले विर्तामोडदेखि कनकाइसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्यांकनको काम गर्ने पराजुलीले जानकारी दिए। झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक आसपासमा साल, खयर, सिसौ, सिरिस, पीपल, वर, कदम, मसलालगायत विभिन्न प्रजातिका रुख हुर्किएका छन्।

उनका अनुसार कोही रुख ५० वर्षभन्दा पुराना छन् भने केही नयाँ पनि छन्। 'अब काम सुरु भएको छ', अधिकृत पराजुलीले भन्नुभयो, 'चाँडै नै रुखको तथ्यांक संकलन गरेर मूल्यांकन पनि गर्छौँ।' उहाँले सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै बिक्रीका लागि हस्तान्तरण गर्ने र बाँकी रहेका रुखलाई मूल्यांकनपछि बिक्री गरेर सरकारको राजस्वमा जम्मा गरिने जानकारी दिए।

Metro Mart
vianet

एसियाली राजमार्गअन्तर्गत पूर्वी सीमा काँकडभिट्टामा दुई वर्षअघि नै डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ। बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्यांकी नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको भागमा पहुँच सडक विस्तार गरेको हो। यही पहुँचमार्गलाई नेपालभित्र एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य बोकेको यस राजमार्गको अवधारणा हो। थाइल्यान्डको बैंककबाट सुरु हुने रुट-२ अन्तर्गत म्यान्मा, बंगलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ। यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिने आयोजनाका उपनिर्देशक प्रदीप शाक्यले जानकारी दिए।

एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको उनले बताए। एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माण कार्य निकट भविष्यमै  सुरु गरिने उनको भनाइ थियो। 

प्रकाशित: Dec 03, 2023| 19:02 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्