शनिबार, साउन १२, २०८१

स्रोत र सम्भावना भएर पनि किन ओझेलमा सौरबोट ?

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

म्याग्दी- आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ। समुद्री सतहदेखि झन्डै दुई हजार दुई सय मिटरको उचाइमा रहेको बेनी नगरपालिका-५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगविहीन बनेको हो।

triton college

यहाँ वर्षौँदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन्।

यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जंगली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताए। उनका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो।

यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताए। उनका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगंगा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन्।

हरियाली जंगल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ।

Metro Mart
vianet

स्थानीयवासीसमेत रहेका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजंगल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन्। विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उनले बताए।

यहाँको जमिनमा गरा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादन दिने खेती गर्न सकिने बानियाँले बताए। उनका अनुसार चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिकरुपमा स्याउ खेतीसमेत गर्न सकिन्छ। पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या-पर्यटनका माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना छ।

त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दुरीमा पर्ने सौरबोटमा वनभोज खाने ठाउँ बनाएर पनि रमाउन सकिन्छ। तत्कालीन बाइसेचौबिसे राज्य रहेका बेला रानीले कपाल कोर्ने डिलसमेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलका रुपमा रहेको छ। कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो। रासस

प्रकाशित: Dec 04, 2023| 05:41 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्