शनिबार, साउन १२, २०८१

झिम्पा गाउँका घर-घरमा शुद्ध पानी, पर्याप्त सिँचाइ

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

गलकोट- बागलुङको निसीखोला गाउँपालिकामा पछिल्लो समय विकासले गति लिएको छ। मध्यपहाडी लोकमार्गले चिरेर रुकुमबाट अगाडि बढेपछि यस क्षेत्र बिस्तारै सुगम बन्दै जान थालेको छ भने सडकपछि खानेपानी र शिक्षामासमेत उल्लेखनीय परिवर्तन हुन थालेको हो। निसीखोला गाउँपालिका-४ झिम्पामा गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ।

triton college

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आँगनमै धारामा पानी आउन थालेपछि निकै सजिलो भएको स्थानीय झोजी मगरले बताइन्। 'घर सफा भयो, सबैलाई सुविस्ता भयो, पानी बोकेर खानु परेन गाग्रीमा बोकिन्थ्यो र अहिले त गाग्रीमा भरेर ढोकामै राखेजस्तो भएको छ', उनले भनिन्, 'आँगनमै धारो भएपछि त गाग्रीमा थापेर राख्नै पर्दैन।'

सिँचाइमासमेत सहयोग पुगेको उनको भनाइ छ। 'धारामा २४सै घण्टा पानी आउँछ, त्यसले गर्दा सिँचाइ पनि गरिएको छ', उनले भनिन्, 'गहुँ जौ, गोबी, ब्याज, लसुन, सुन्तला कागतीको बिरुवा लगाइएको छ, तरकारी खेती गर्न पनि सजिलो भएको छ, आकाशबाट समयमा पानी नपर्दा पनि बारीमा सिँचाइ गरेर आवश्यक तरकारी उब्जाउन सजिलो भएको छ।'

झिम्पामा खानेपानी नै सुविधा नभएको त होइन। तर विगतमा निर्माण गरिएको खानेपानीको धारोमा फोहर पानी आउँदा स्थानीयले समस्या धेरै झेल्नुपर्थ्यो। नयाँ योजनाअन्तर्गत सफा पानी उपलब्ध हुन थालेपछि मानिस बिरामी हुनेसमेत कम भएको स्थानीय प्रमिला मगरको भनाइ छ। 'जीडब्ल्युटीले दिएको पानी हो, पहिलेको पानी जाँच गर्दा फोहर देखिएको थियो', मगरले भनिन्, 'यो पानी ल्याएदेखि धेरै सुविधा भएको छ, अहिले त यहाँका मानिस बिरामी पनि भएका छैनन्, मुहानबाटै फिल्टर गरेर ल्याएको पानी भएकाले निकै राम्रो र स्वच्छ छ।'

जीडब्ल्युटीले दुई योजनामार्फत झिम्पाका ९४ घरको घर घरमा धारा पुर्‍याएको छ। त्यसका साथै सामुदायिक भवन र विद्यालयमा पनि पानीको सेवा पुगेको छ। जीडब्ल्युटीले खोपानी योजना निर्माण गरेर हस्तान्तरण गरेपछि अहिले खानेपानी आयोजनाको रेखदेका लागि स्थानीय चक्रबहादुर रोकाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ।

Metro Mart
vianet

'यहाँभन्दा दुई किलोमिटरमाथि पाले भन्ने मुहान छ भिरको जरामा, ११ मिटर उचाइमा टीबीसी बाँधेर पानी फिल्टर गरेर छोपिएको छ', अध्यक्ष रोकाले भने, 'अप्ठ्यारो ठाउँमा जीआई पाइप राखेर ट्यांकीसम्म पानी ल्याइएको छ। गाउँमा ल्याएपछि पनि पानी वितरणका लागि ठाउँ ठाउँमा वितरण ट्यांकी बनाइएको छ।'

खानेपानी योजना पूरा गर्नका लागि जीडब्ल्युटीले प्राविधिक सहयोगसँगै जीडब्ल्युटीले ६६ लाख रूपैयाँभन्दा बढी लगानी गरेको रोकाले जानकारी दिए। 'दुई वटा योजना हो, त्यो दुईवटैमा गरी ६६ लाख ७५ हजार सात सय २५ रूपैयाँ उहाँहरुले खर्च गर्नुभएको छ, बाँकी हाम्रो श्रमदान हो', उनले भने।

दुईटै योजनामा स्थानीयवासीले २० प्रतिशत श्रमदान गरेका छन्। पहिलेको योजना जीर्ण भएकाले जीडब्ल्युटीलाई अनुरोध गरेपछि खानेपानी सहज भएको निसीखोला गाउँपालिका-४ का वडाध्यक्ष टीकानिधि पौडेलको भनाइ छ।

उनले पुरानो धारा २०४९ सालमा निर्माण भएकाले समस्या भएपछि नयाँ योजना ल्याएको बताए। जीडब्ल्युटीले विभिन्न ठाउँमा, खानेपानी, विद्यालय झोलुंगे पुल बनाउने गरेको थाहा पाएपछि डा शान्ताराज शर्मासँगबाट कुराकानी गरेपछि योजना ल्याइएको उनको भनाइ छ।

प्रकाशित: Dec 03, 2023| 22:02 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्