मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अपांगमैत्री पूर्वाधार निर्माणमा लागिपरेका छौँ : पूर्वाधारमन्त्री

अपांगमैत्री पूर्वाधार निर्माणमा लागिपरेका छौँ : पूर्वाधारमन्त्री

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपांगमैत्री बनाउन लागिपरेको बताएका छन्। अपांगता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपांगमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

National life

मन्त्री ज्वालाले अपांगता भएका वर्गले आत्मनिर्भर र सम्मानित जीवन बाँच्न पाउने पहिलो अधिकार हुनुपर्नेमा जोड दिए। उनले भने, 'संविधानमा मात्र अधिकारका कुरा उल्लेख गरेर मात्रै पुग्दैन, अपांगता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व हो।'

राष्ट्रिय अपांगता महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपांगता भएका व्यक्तिको अधिकारका लागि तीनै तहका सरकार सकारात्मक हुनुपर्ने बताए। 'संघ, प्रदेश र स्थानीय सरकारले अपांगता भएका व्यक्तिको क्षमता अभिवृद्धिको कार्यक्रमका लागि आवश्यक बजेट उपलब्ध गर्नुपर्छ', उनले भने।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय अपांगता नीति छिट्टै पारित गर्नुपर्नेमा जोड दिए। उनले भने, 'सामाजिक, आर्थिक तथा पर्यावरणीय न्यायको आयाम समेटिएको राष्ट्रिय अपांगता नीति छिट्टै पारित गर्न मन्त्रालयले पहल गरिरहेको छ। अपांगता भएका वर्गलाई मर्यादित जीवन निर्वाह गर्न अहिलेको प्रविधिसँग जोड्नुपर्छ।'

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले सरकारले यस वर्षको अपांगता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ को मूल मर्मलाई आत्मसाथ गरेर कार्यक्रम तयार गर्नुपर्ने बताए। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा अपांगता भएका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका  पार्वती पौडेल, सन्तोष पौडेल, भावुकजंग थापा, शर्मिला विश्वकर्मा, टीकाराम घिमिरे, प्रतिमा शर्मा, गोमा अधिकारी, टेकनाथ न्यौपाने, निर्मला देवकोटा र ईश्वर रैलालाई पुरस्कार दिइएको थियो। 

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।

प्रकाशित: Dec 03, 2023| 16:44 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्