काठमाडौं- अमेरिकाका पूर्व विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको निधन भएको छ। किसिन्जरको बुधबार कनेक्टिकटस्थित घरमै निधन भएको किसिन्जर एसोसियट्सको विज्ञप्तिमा उल्लेख छ।
उनको मृत्युको कारण भने बताइएको छैन। किसिन्जर सन् १९७० को दशकमा अमेरिकी विदेश नीतिको पर्याय थिए। उनले यसअघि नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए। उनको जन्म २७ मे १९२३ मा जर्मनीमा भएको थियो। उनका बुबा लुइस किसिन्जर शिक्षक थिए। हेनरी सन् १९४३ देखि १९४९ सम्म अमेरिकी सेनामा समेत थिए।
जर्मनीमा तानाशाही नाजीहरुसँग जोगिन उनको परिवार सन् १९३८ मा अमेरिका गएको थियो। भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
हेनरी १० वर्षको हुँदा सन् १९३३ मा एडल्फ हिटलर नेतृत्वको नाजीले जर्मनीको सत्ता हातमा लियो। त्यसपछि जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरी यहुदीहरुलाई दु:ख दिन थालेपछि उनको परिवार सन् १९३८ मा अमेरिकामा शरणार्थी बन्न पुग्यो।
१५ वर्षको उमेरमा शरणार्थी बनेर अमेरिका पुगेका किसिन्जर सन् १९४३ मा अमेरिकाको अंगीकृत नागरिक बने। साउथ क्यारोलिनामा रहेको क्याम्प क्रफ्टमा आधारभूत तालिम लिन थालेका किसिन्जरलाई पछि ८४औं इन्फेन्ट्री डिभिजनमा भर्ती गरियो। यससँगै परिवेश बुझ्न सक्ने उच्चतम क्षमता र जर्मन भाषा जानेका किसिन्जरलाई डिभिजनको सैन्य खुफिया विभागमा नियुक्त गरियो।
उक्त विभागमा नियुक्त भएपछि सन् १४४ देखि ४६ सम्म किसिन्जर फेरि जर्मनीमा नै खटिन पुगे अमेरिकी सेनासँगै। दोस्रो विश्वयुद्धपछि आफ्नो जन्मदेश पुगेका किसिन्जरले आफ्ना धेरै साथीहरु र आफन्तहरुलाई नाजी यातना शिविरमा लगेर मारिएको दर्दनाक दृष्यहरु देखे। यसले उनलाई विक्षिप्त तुल्यायो तर, त्यहाँ उनी अर्कै मिसनका लागि खटिएका थिए।
१५ वर्षको उमेरमा शरणार्थी बनेर अमेरिका पुगेका किसिन्जर सन् १९४३ मा अमेरिकाको अंगीकृत नागरिक बने। साउथ क्यारोलिनामा रहेको क्याम्प क्रफ्टमा आधारभूत तालिम लिन थालेका किसिन्जरलाई पछि ८४औं इन्फेन्ट्री डिभिजनमा भर्ती गरियो।
आफ्नो सम्मानमा गत मेमा आयोजित 'द इकोनमिक क्लब अफ न्युयोर्क'मा उनले आफ्नो विगत स्मरण गरेका थिए, 'जब म इन्फेन्ट्री डिभिजनमा थिएँ, कसैले पनि मेरो जर्मन टोनको विषयमा टिप्पणी गरेनन्, त्यसैले मलाई लाग्यो कि मैले यो भाषा गुमाएको रहेछु। तर, हार्वड गएर म त्यो भ्रमबाट मुक्त भएँ।'
जर्मनीबाट फर्किएपछि सन् १९५० मा उनले हार्वड विश्वविद्यालयमा आफ्नो अध्ययनलाई निरन्तरता दिए र सन् १९५४ मा उनले पीएचडी हासिल गरे। विदेश मामिलाहरूमा उनको गहिरो चासोले गर्दा उनलाई सन् १९६०, १९६४ र १९६८ मा रिपब्लिकन नेल्सन रकफेलरको राष्ट्रपति अभियानमा विदेश नीति सल्लाहकारको रूपमा काम गरे।
त्यस समय उनले रिचर्ड निक्सनलाई 'राष्ट्रपति उम्मेद्वारमध्ये सबैभन्दा खतरनाक' भनेर वर्णन गरेका थिए। तर, पछि निक्सन र जेराल्ड फोर्ड राष्ट्रपति हुँदा उनले राष्ट्रिय सुरक्षा सल्लाकार र विदेशमन्त्रीको रुपमा काम गरे।
उत्कृष्ट वार्ताकार
यहुदी शरणार्थीको रुपमा अमेरिका प्रवेश गरेका हेनरी एक अमेरिकी कूटनीतिज्ञ, भू-राजनीतिक सल्लाहकार र राजनीतिक सिद्धान्तकारको रुपमा परिचित थिए। हार्वडका तीन प्राध्यापकहरु जेम्स के सेबिनेयस, आर निकोलस वर्न्स र रोबर्ट एच नूकिनले सन् २०१८ मा 'किसिन्जर द नेगोसिएटर' पुस्तकमार्फत उनी एक उत्कृ्ष्ट वार्ताकार भएको बताएका छन्।
सुपरपावरको रुपमा उदय भइरहेको अमेरिका सम्बन्ध विस्तार र सुदृढिकरणका साथै संसारलाई आफू नेतृत्व लिन सक्ने भएको देखाउनुपर्ने चुनौती थियो। तर, यसका लागि स्पष्ट मार्गचित्र भने थिएन। यही समयमा उनी अमेरिकी सत्ताको राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगे। उनले चाल्ने हरेक कदमले ठूलो महत्व राख्ने अमेरिकाका लागि निकै संवेदनशील हुने अवस्था थियो।
यस्तो अवस्थामा उनले २०औं शताब्दीका सबैभन्दा ठूला लडाइँ र कठोर व्यक्तित्वहरूको सामना र साक्षात्कार गर्न पुगे। चीनसँगको सम्बन्ध खुला गर्ने, सोभियत संघसँग 'डिटेन्टे' (तनाव कम गर्ने) बनाउने, मध्यपूर्वमा शान्ति स्थापना गर्ने र रोडेसियामा काला जातिहरुको शासन स्थापित गर्ने विषयमा भएका वार्ताहरुमा किसिन्जर सफल भएको हार्वडका प्रोफेसरहरुले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
नेपालको भूराजनीतिमा प्रभाव पार्ने चीन र अमेरिकाजस्ता सर्वाधिक महत्वपूर्ण मुलुकबीच सम्बन्ध सुधारका मियो बनेका किसिन्जरले गोप्य मिसनमा गएर बेइजिङसँग गहिरो सम्बन्ध स्थापित गरे। किसिन्जरको त्यो गोप्य बेइजिङ भ्रमणका लागि वैकल्पिक मार्गको रुपमा काठमाडौंलाई पनि राखेको जानकारहरुले बताउने गरेका छन्। चीनको सीमा जोडिएका १४ मुलुकमध्ये नेपाल र पाकिस्तान मात्र चीन र अमेरिका दुवैले सहज रुपमा विश्वास गर्न सक्ने मुलुक थिए। यद्यपि किसिन्जरले इस्लामावाद (पाकिस्तान) हुँदै बेइजिङ पुगेर आफ्नो मिसन सफल बनाएका थिए।
यतिमात्र नभइ रिचर्ड निक्सन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङ र उनका प्रधानमन्त्री चाउ एनलाइलाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति बन्ने अवसर पनि किसिन्जरले जुराए।
किसिन्जरले अमेरिकी बजेटमा ठूलो बोझ बनिरहेको रणनीतिक आणविक हतियारको विकासमा कमी ल्याई सोभियत संघसँग डिटेन्टेको अभियान थालेका थिए। यसले विश्वव्यापी स्थिरतालाई बलियो बनाउन भूमिका खेल्यो। 'योम किप्पुर युद्ध' अथवा 'रमजान युद्ध' भनेर चिनिने सन् १९७३ को अक्टोबरमा भएको इजरायल र इजिप्ट र सिरियाको नेतृत्वमा अरब सेनाहरूको गठबन्धन युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्न पनि उनले नेतृत्वदायी भूमिका खेले। र उनको प्रयास एक हदसम्म सफल भयो।
यससँगै गृहयुद्धमा फसेको पाकिस्तानबाट बंगलादेश अलग भएर शान्ति कायम गर्ने विषय होस् अथवा पूर्वी टिमोरको टापुको स्वतन्त्रता कायम गर्ने इन्डोनेसियाली कार्यहरू, चिलीको समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डे र अर्जेन्टिनाको इसाबेल पेरोनलाई हटाउन सीआईए समर्थित सैन्य विद्रोहसहित ल्याटिन अमेरिकामा गरेको हस्तक्षेप र अफ्रिकाभरिमा शासन गरिरहेका जाइरे तानाशाह मोबुतु सेसेसँग सम्बन्ध स्थापित गरी रोडेसिया (अहिले जिम्बाब्वे) मा काला जातिको बहुमतको शासनको लागि दबाब दिने विषयमा होस् उनले उत्कृष्ट वार्ताकारको रुपमा भूमिका खेलेका थिए।
यद्यपि भियतनाम युद्ध र कम्बोडियामाथिको आक्रमणको घटनाले भने उनलाई लखेटिरह्यो। पीडितहरुले उनलाई 'वार क्रिमिनल' (युद्ध अपराधी) को संज्ञा दिन्छन्। भियतनाममा युद्धविराम गराउन सफल भएको भन्दै सन् १९७३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। यद्यपि त्यसको चर्को विरोध भएपछि किसिन्जरले नोबेल पुरस्कार फिर्ता गरिदिए।
पछिल्ला दिनमा उनले अमेरिकाको अवैतनिक कूटनीतिक सल्लाहकारको रुपमा काम गरिरहेका थिए। पेरिसको साइन्सपोका कूटनीतिक इतिहास विशेषज्ञ तथा प्रोफेसर मारियो डेल पेरोले किसिन्जर एक सदाबहार पारम्परिक विचारक भएको बताएका छन्। उनले भने, 'सीमित आणविक युद्धदेखि मिसाइल अन्तरहरूसम्म, ट्रान्सएट्लान्टिक विवाददेखि अमेरिकी अन्तर्राष्ट्रिय विश्वसनीयतासम्मका घटनालाई निश्चित आकार दिने र चुनौतीको सामना गर्ने अद्वितिय बौद्धिकता र क्षमता किसिन्जरमा थियो।'
कूटनीतिक वृत्तमा मात्र नभएर राजनीतिक र समाजका विभिन्न आयाममा उनको विश्वव्यापी दृष्टिकोणको अझै पनि गहिरो सराहना गरिन्छ। उनले हरेक विषयलाई पर्गेल्दा 'वेलटान्सचउङ' (विश्व दृष्टिकोण) को अपरिहार्यता हुने बताउने गरेका थिए। त्यसैगरी उनले विपक्षीको महत्वाकांक्षा र संवेदनशिलताको आधारभूत कुराहरू बुझ्न सक्नेले नै सहज रुपमा सम्बन्ध स्थापित गर्ने र सुधार गर्दै आफ्नो 'स्वार्थ' हासिल गर्न सकिने कुरामा विश्वास गर्थे।
शताब्दी लाग्दा पनि किसिन्जरको बौद्धिक सक्रियता र जिम्मेवारीमा आएको काम गर्न सक्छु भन्ने आँट आश्चर्यजनक थियो। गत मेमा सीबीएससँगको अन्तर्वार्ताका क्रममा सोधिएको प्रश्नमा उनले भनेका थिए, 'अमेरिकी प्रशासनले मलाई जिम्मेवारी दिएको अवस्थामा चिनियाँ र रुसी राष्ट्रपतिहरु सी जिनपिङ र भ्लादिमिर पुटिनसँग संवाद गरेर पछिल्लो गतिरोध अन्त्य गर्न तत्पर छु। तर म एक सल्लाहकारको रुपमा हुनेछु, सक्रिय व्यक्ति होइन।'
किसिन्जरले पछिल्लो समय द इकोनमिस्टसँग गरेको कुराकानीमा पनि चीनले विश्व प्रभुत्व चाहेको कुरालाई अस्वीकार गरेका थिए। उनले भनेका थिए, 'चीनले हिटलरियन अर्थमा विश्व प्रभुत्व चाहेको छैन। उ शक्तिशाली हुन चाहन्छ।' विगत लामो समयदेखि अपमानित महसुस गरेको चीनले अमेरिकामा आधारित व्यवस्था नभएर नियममा आधारित विश्व व्यवस्था चाहेको किसिन्जरको बुझाइ थियो।
किसिन्जरले नेपालबारे के भनेका थिए?
पछिल्लो समय नेपालमा अमेरिकी सक्रियता बढेको र नेपाललाई भू-राजनीतिक केन्द्रको रुपमा हेरिएको विश्लेषणहरु भइरहेका छन्। आजभन्दा पाँच दशकअघि पनि चीन र अमेरिकाबीच नेपालका विषयमा विभिन्न छलफलहरुमा चासोहरु व्यक्त हुने गरेका थिए। बेलायतपछि कूटनीतिक सम्बन्ध स्थापित भएको र पहिलो आर्थिक सहायता गर्ने मुलुक अमेरिका र नेपालको उत्तरी छिमेकी चीनले त्यस समयमा नै नेपाललाई गम्भीरताका साथ हेरेको पाइन्छ। सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले पनि नेपालबारे चासो राखेको पाइन्छ।
सन् १९७५ मा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्ड र चिनियाँ प्रधानमन्त्री देङ सियाओपिङबीचको कुराकानीका क्रममा नेपालको प्रसंग उठेको पाइन्छ। सञ्जय उपाध्यायले आफ्नो पुस्तक 'नेपालमा चीन र भारतबीच भू-रणनीतिक प्रतिद्वन्द्वी' पुस्तकमा यो प्रसंग उल्लेख गरेका छन्। 'बेइजिङमा देङ सियाओपिङसँगको भेटमा फोर्डले सोधे- नेपालमा भारतीय सैन्य आक्रमणको कुनै खतरा छ कि छैन? देङले खतरा हुन सक्ने कुरा स्वीकार गरे पनि 'मिलिटरी मुभ' को सम्भावना नरहेको बताए।'
देङले फोर्डलाई चीनले नेपालका लागि सक्दो गरिरहेको कुरालाई आश्वस्त पार्दै अमेरिकाले 'नेपाललाई गर्नुपर्ने धेरै' भएको बताएका थिए। यसमा हेनरी किसिन्जरले जवाफ दिएका थिए- 'अमेरिकाले नेपाललाई उच्च महत्व दिएको छ।' किसिन्जरको जवाफमा देङले थप्दै अझै पनि अमेरिकाले नेपाललाई सहयोग गर्नुपर्नेमा जोड दिन्छन्। उनी फोर्डलाई भन्छन्, 'नेपाललाई सहयोग गर्नु आवश्यक छ। नेपाल लड्न सक्ने राष्ट्र हो, यो सिक्किम वा भुटानजस्तो होइन।'
(किसिन्जरको सयौं जन्मोत्सवको अवसरमा पहिलो पटक २०८० जेठ १३ प्रकाशित सामग्री पुन: प्रकाशन गरिएको हो।)