बुधबार, फागुन ९, २०८०

टिप्पणी

गणतान्त्रिक सत्तालाई सुझाव- निषेधले ज्ञानेन्द्रपथमा पुर्‍याउला !

आगो निभिसकेको अँगेनोमा बचेको खरानी घसेर राजतन्त्रको भूतको प्लेकार्ड देखाएर ऋण मिनाहाको उद्देश्यसहित काठमाडौंका सडक तताउने चेतावनी दिइरहेका छन् प्रसाईं।
 |  बुधबार, मंसिर ६, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- विस्तृत शान्ति सम्झौता भएको १७ वर्षपछि फेरि मुलुकमा द्वन्द्वको बिउ रोप्‍ने प्रयास भइरहेको भन्दै गणतन्त्र पक्षधरहरु त्राहिमाम देखिएका छन्। 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'का नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्रविरुद्ध आन्दोलन गर्न लागेका बेला अहिलेको व्यवस्था नै उल्टिने चिन्ता गणतन्त्र पक्षधरहरुका बोली र व्यवहारमा झल्किरहेको छ। सत्तारुढ गठबन्धन प्रसाईंसँग आत्तिएको छ भने प्रमुख प्रतिपक्षी दल एमाले त उनीसँग भिड्न मैदानमै उत्रिएको छ।

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रवादी दलहरुको बैठक नै डाकेर सोधे- गणतन्त्रविरोधी गतिविधिहरु हामी टुलुटुलु हेरेर बस्ने हो त? व्यवस्था जोगाउन आवश्यक पर्‍यो भने हामी पनि सडकमा होमिन तयार छौं।’ समृद्धिको सपना देखाएर स्थापना गरिएको गणतन्त्रबाट दुई दशकसम्म पनि जनतालाई महसुस हुने गरी 'डेलिभरी' दिन नसकेपछि जनतामा आक्रोश पैदा भएको छ। गणतन्त्रको बुइ चढेर पटक-पटक सत्तामा पुगेकाहरुले एकातिर जनतालाई डेलिभरी दिन सकेका छैनन् भने अर्कोतिर ठूला-ठूला भ्रष्टाचारका मुद्दाहरुमा उनै गणतन्त्रवादीहरुको संलग्‍नता देखिन थालेको छ।

गणतन्त्रलाई बद्‌नाम गराउँदै आफ्नो व्यक्तिगत लाभ लिने मौका कुरेर बसेकाहरुलाई यो सुनौलो अवसर साबित भएको छ। फलाम तातेको समयमा घनले हिर्काउनुपर्छ भन्‍ने उखान सुन्दै हुर्केकाहरुलाई अहिले माहोल तातेको महसुस भएको देखिन्छ। यही मौकामा देशमा आन्दोलन चर्काउने र आक्रोशित नेपाली जनतालाई फेरि 'राजतन्त्रात्मक व्यवस्थामा फर्काएर सुनको लड्डु खुवाउने' भ्रमको व्यापार भइरहेको छ। यो व्यापारको नेतृत्व दुर्गा प्रसाईंले गरिरहेका छन्। ठूला भनिएका नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमालेका नेतृत्वको नजिक रहेर स्रोत-साधन परिचालन गरेका र भित्रि कुरा थाहा पाएका प्रसाईंसँग त्रसित देखिएका गणतन्त्रवादी सत्ता आफैंले लडेर ल्याएको व्यवस्थामाथि नै प्रश्‍न उठ्ने निर्णयहरु गर्न हौसिरहेको देखिन्छ।

यसको पहिलो चरणका रुपमा सामाजिक सञ्‍जाल प्लेटफर्म टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ सरकारले। टिकटकले समाज बिगारेको थियो, ठिक गर्‍यो भन्‍नेहरुको जमात ठूलो देखिन्छ। झट्ट सुन्दा र टिकटकमा देखिएका केही (अ)श्लिल गतिविधि हेर्दा सरकारले ठिक निर्णय गरेको भन्‍ने निष्कर्षमा पुग्‍न सकिएला। तर, टिकटक केवल सामाजिक सञ्‍जालमात्र होइन, यो एक अभिव्यक्तिको माध्यम पनि हो।

नेपालको संविधान २०७२ ले 'पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता'को ग्यारेन्टी गर्ने व्यवस्था गर्ने नेताहरुले टिकटकमाथि प्रतिबन्ध लगाउँदा आफैंले गरेको व्यवस्था कहीँकतै उल्लंघन हुने पो हो कि भन्‍नेतिर सोच्‍न सकेन। विगतमा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहले एकैपटक समाचार कक्षमा सेना पठाएका थिएनन्। अभिव्यक्तिका माध्यमहरुलाई विस्तारै अंकुश लगाउँदै निषेधको बाटो रोजेका थिए। परिणाम- उनले राजसत्ताबाट बिदा हुनुपर्‍यो।

Metro Mart
worldlink

राजाले सेना लगाएर राजसंस्था विरुद्धको समाचार रोकेका थिए, अहिले गणतन्त्रको विरोध गर्दा दुर्गा प्रसाईंको अन्तर्वार्ता रोकिएको छ। ब्राभो डेल्टा शो नामक कार्यक्रममा एपिवान टेलिभिजनका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो।

दाहालले ट्विटरमा दिएको जानकारीअनुसार व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको छ। दाहालले भनेका छन्, 'वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।'

कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो। आज दिउँसो दाहालले ट्विटरमा अन्तर्वार्ताको क्लिप सार्वजनिक गरेका थिए, जसमा प्रसाईंले भनेका छन्- यो देशमा अब राजा को हुन्छ मलाई थाहा छैन, यो देशमा अब को प्रधानमन्त्री हुन्छ मलाई थाहा छैन। तर यो देशको व्यवस्था अब परिवर्तन हुन्छ र विदेशमा रहेका ५० लाख युवा यो देशमा फर्किनुपर्छ। लघुवित्त, बैंकहरु, सहकारी राष्ट्रियकरण हुनुपर्छ। २० लाखभन्दा कम ऋण मिनाहा गरेर दिनैपिच्छे झुन्डिएर मर्ने, पेट्रोल खन्याएर आफैंलाई जलाउने बाटो बन्द हुनुपर्छ। विखण्डित भएको परिवार छ नि पढ्न नपाएर, पैसाको कारणले ? अब सधैंभरि परिवारले एकै ठाउँमा बसेर दसैंको टिको लाउनुपर्छ। डाइनिङ टेबुलमा बसुन् कि गोबरले लोटाएको ठाउँमा बसुन्, बाउआमासँग छोराछोरी बसेर एक छाक भए पनि भात खानुपर्छ। मेरो अभियान त्यो हो। मेरो विद्रोह त्यो हो।'
 
राजालाई काटेर गणतन्त्र स्थापना भएका विश्‍वका कैयौं मुलुकहरुको तुलना गर्ने हो भने नेपालमा गणतन्त्र प्राप्तिसँगै राजाको बहिर्गमन, व्यवस्थापन र हेरचाहसमेत शान्तिपूर्ण भयो। तर, फेरि शान्तिपूर्ण रुपमा बिदा गरिएका राजालाई ल्याएर श्रीपेच लगाइदिने अभिव्यक्ति दिँदैमा गणतन्त्रवादीहरु भयभीत हुने स्थिति सिर्जना हुनुमा गणतन्त्र पक्षधरहरुकै भूमिका छ। यो स्थिति आउन नदिनका लागि गणतन्त्र पक्षधरहरु जनतामा आशाको सञ्‍चार गर्ने, राज्यको सेवामा सहज पहुँच स्थापना गर्ने, मौलिक हक अधिकारको सुनिश्‍चितता गर्नतिर लाग्‍नुपर्ने हो। तर, उनीहरु नै ज्ञानेन्द्रपथ समातेर उल्टो बाटो हिँडिरहेका छन्।

संविधानले सबैखाले विचार बोकेर राजनीति गर्न छुट दिएको छ। आ-आफ्नो विचारका आधारमा संगठन र पार्टी निर्माण गर्न पाइन्छ। गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई पनि संविधानले अपरिवर्तनीय मानेको छैन। कसैले राजतन्त्रको एजेन्डा बोकेर शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छ भने त्यो अधिकार संविधानले दिएको छ। यस अर्थमा दुर्गा प्रसाईंलाई निषेध गर्नु संविधानको भावना प्रतिकूल छ। यसले लोकतन्त्रको भावनालाई सम्मान गर्दैन।

माओवादी र एमालेलाई मार्सीको स्वाद चखाएर मेडिकल व्यवसायलाई निजीकरण गर्ने अभिष्ट पूरा गर्ने ध्याउन्‍नमा प्रसाईंले पालैपालो प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको 'भजन' गाउनसमेत पछि परेनन्। तर, आफ्नो स्वार्थ पूर्ति नहुने देखेपछि उनीहरुकै सत्तोसरापमा लागेर गाउँका सोझा किसानहरुसँग आँशुको व्यापार गर्दै जनता उचाल्‍ने काम गरिरहेका छन्।

आगो निभिसकेको अँगेनोमा बचेको खरानी घसेर राजतन्त्रको भूतको प्लेकार्ड देखाएर ऋण मिनाहाको उद्देश्यसहित काठमाडौंका सडक तताउने चेतावनी दिइरहेका छन् प्रसाईं। उनको चेतावनीबाट तर्सिएर अहिलेको सत्ताले संघीय राजधानी काठमाडौंका विभिन्‍न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ, जुन विगतमा राजा ज्ञानेन्द्रले अहिलेका गणतन्त्रवादीहरुलाई रोक्‍न गरेका थिए। के दुर्गा प्रसाईं विगतका सात दल र लाखौं जनताभन्दा शक्तिशाली भएका हुन्? यदि होइन भने विगतमा राजतन्त्र जोगाउन राजा ज्ञानेन्द्रले रोजेको निषेधको बाटो अहिलेका गणतन्त्रवादीहरुले किन रोजिरहेका छन्?

एक मेडिकल व्यसायीले नै हल्लाउने गणतन्त्रको जग यति कमजोर किन भयो? यसमा गणतन्त्रवादी सत्ता सञ्‍चालकहरुले जवाफ दिन आवश्यक छ। राजावादीको भेषमा देखिएका विभिन्‍न समूहहरुले गणतन्त्रले केही दिन नसकेको भन्दै आलोचना गरिरहेका छन्। तर, विगत २०० वर्षभन्दा लामो समय सक्रिय राजतन्त्रभन्दा कलिलो गणतन्त्रले सबैभन्दा शक्तिशाली अभिव्यक्तिको अधिकार दिएको छ। समावेशीता र मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ। खाँचो कार्यान्वयन र इमान्दार नेतृत्वको हो।

अहिलेको आक्रोश र वितृष्णा उत्पन्‍न गराउने पात्र हो र प्रणाली होइन भन्‍ने कुरा पनि गणतन्त्रवादीहरुले जनतालाई बुझाउन आवश्यक छ। अहिले मुलुकलाई कुनै महाराज भन्दा पनि यही प्रणालीलाई नै बलियो बनाएर गणतन्त्रको रक्षा गर्ने र जनताप्रति इमान्दार हुने सेवकको खाँचो हो। निषेधको राजनीति गर्न हुँदैन र त्यो जनताप्रतिको अन्याय हो भन्दै संघर्ष गरेर सत्तामा पुगेकाहरुले फेरि निषेध गर्न खोजेमा ज्ञानेन्द्रले भोगेको परिणाममा लागि तयारी गरिएको हो भनेर जनताले बुझेमा दुर्गा प्रसाईं सही ठहरिनेछन्। मुलुक 'दलाल' दलदलमा सधैं भासिरहनेछ र जनता प्रताडित भइरहने नै छन्।

प्रकाशित: Nov 22, 2023| 17:38 बुधबार, मंसिर ६, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्