पर्वत–सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका छन्। निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एक मात्र महाशिला हो। अन्य ६ पालिकामा भने निजी विद्यालय सञ्चालन भइरहेका छन्।
जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तर सुधार भएसँगै गरिएको सुधारले गाउँपालिकाका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन्। हुने–खानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका लामो समयसम्म विद्यालयमा नटिक्ने भएपछि गाउँपालिकाले सामुदायिक विद्यालयबाटै निजी विद्यालयसरहको शिक्षा दिन थालेको थियो।
सुरुमा कक्षा १ देखि ३ सम्म पालिका आफंैले दिवा खाजा कार्यक्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको टिकाउ दर बढ्यो। पछि सरकारले कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।
अहिले नर्सरीदेखि १० कक्षासम्म सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको छ। उनले भने, ‘निजी विद्यालय नहुने जिल्लाभरमा हाम्रो पालिका मात्रै हो।’ गाउँपालिकाले अंग्रेजी भाषाप्रतिको मोह अन्त्य गर्न सबै विद्यालयमा अंग्र्रेजी माध्यमबाट पढाइ सुरु गरेको छ। बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिक विद्यालयबाटै दिन थालिएको अध्यक्ष भुसालको भनाइ छ।
त्यसका लागि विद्यालयमा रहेका नयाँ तथा पुराना शिक्षकलाई समेत आवश्यक तालिम दिएर मासिकरुपमा उपलव्धि मापन परीक्षासमेत लिने गरिएको छ। शिक्षक आफैंले प्रश्नपत्र तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिरबाट विषय–विज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभई कर्मचारीको रोहवरमा परीक्षा लिने तथा नतिजा विश्लेषण गर्ने गरिएको उनले बताए।
गाउँपालिकाले तीन वटा विद्यालयलाई आवासीय विद्यालयको रुपमा समेत सञ्चालन गरेको छ। वडा–१ मा रहेको गोल्र्याङधाम आधारभूत माध्यमिक विद्यालय, वडा–४ पाखापानीमा रहेको स्वधर्म मावि र वडा–५ लंखुदेउरालीमा रहेको महेन्द्रज्योति माविलाई पूर्ण तथा आंशिक रुपमा आवासीय विद्यालय सञ्चालन गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने र पढाइसँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ।
यस वर्षदेखि आवासीय विद्यालय थप गर्ने योजनासमेत पालिकाले बनाएको छ। आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ। त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागु गरेर प्रविधिमैत्री शिक्षासमेत दिन थालिएको अध्यक्ष भुसालले बताए।
गाउँपालिकाका सबै शिक्षक कम्प्युटरमा पोख्त बनिसकेका छन्। महाशिलाले कृषि, पशु, स्वास्थ्यसम्बन्धी अध्ययन गर्नेलाई वार्षिक एक लाखका दरले चार वर्षसम्म अनुदान दिँदै आएको छ भने विज्ञान र गणित पढाउने शिक्षकको अभाव भएपछि गाउँपालिकाभित्रबाट उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक ५० हजारका दरले चार वर्षसम्म सहयोग गर्ने कार्यक्रमसमेत लागू गरेको छ।
उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ। पालिकाभित्रकै सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएपछि बालबच्चा पढाउनकै लागि बजार झर्ने क्रम रोकिएको गाउँपालिकाका पूर्वप्रवक्ता जीवन विक्रम उच्चैले बताए। आफैंले सञ्चालन गरेको लुंखुदेउराली आवासीय बोर्डिङ स्कुललगायत अन्य वडामा रहेका गरी चार वटा निजी विद्यालय बन्द भएको उनले जानकारी दिए।–रासस