मंगलबार, फागुन २६, २०८२

विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ। कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन्। 

National life

अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ। अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन। 

नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन्। शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन्। 

‘विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन’, विद्यालयका प्रधानाध्यापक धर्मा ऐरले भने, ‘कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ।’ विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन्। विद्यालयमा एक सय ६२ विद्यार्थी रहेका छन्।

विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए। ‘विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो’, उनले भने, ‘यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ।’

Laxmi sunrise bank
kumari

उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ। शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वतःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ। 

विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताए। ‘विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ’, उनले भने, ‘सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिर्वाय रुपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ।’ 

जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमनसमेत नगरेको उनको गुनासो  छ। विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन। कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरूको भनाइ रहेको छ। विद्यालय विसं २०६५ मा स्थापना गरिएको हो।

प्रकाशित: Oct 25, 2023| 22:32 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्