आइतबार, जेठ ६, २०८१

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।
 |  बुधबार, कात्तिक १, २०८०

विजेता

विजेता

बुधबार, कात्तिक १, २०८०

काठमाडौं-  विगत केही महिनादेखि महँगिएको खाद्यान्नले दसैंलाई थप बोझिलो बनाएको छ। दसैंमा घर फर्केका परिवार, आफन्त र साथीभाइलाई स्वागत गर्नु यसपटक झनै महँगो सावित हुने चिन्ता गृहिणीहरु व्यक्त गर्छन्।

triton college

भान्सा व्यवस्थापन गर्ने महिलाहरुलाई यसपटकको दसैंले चिन्तित बनाएको छ। गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।

झापा शनिश्चरेकी गीता शर्माले महँगी अचाक्ली बढेको बताइन्। '१८ सय पर्ने जिरा मसिनो चामलको भाउ बढेर २७ सयसम्म पुगेको छ। चिनी सर्टेज भएको हल्लाले किराना पसलमा किलोको १४५ तिरेर किन्नुपरेको छ,' उनले भनिन्। पछिल्लो एक वर्षमा खाद्यान्नको भाउ एकदमै बढेकोले भान्सा व्यवस्थापन सकस बनेको उनले बताइन्। 'त्यसमा पनि चाडबाडको बेला महँगिने तरकारी र आलु–प्याजले थप तनाव दिन्छ,' उनले भनिन्। उनका अनुसार चामल, दालमात्रै नभएर मरमसला र चिनीसमेतको भाउ एकदमै बढेको छ।

उर्मिला सुवेदी यसपटक काठमाडौंमै दसैं मनाउने विचारमा छिन्। उनी काठमाडौंको नयाँ बानेश्वर चोकमा चिया पसल चलाउँछिन्। उनले यस पटक महँगीले गर्दा घर जान नपाएको बताइन्।

घरायसी सामानका साथै सबै कुरा महँगो भएको बताउँदै उनले भनिन्, 'दसैंमा घर जाँदा–आउँदाको खर्च बेहोर्न सकिन्न। अघिल्लो वर्षसम्म यही पसल चलाएर दसैंमा घर गएर आफन्त अनि साथीभाइसँग मनाइन्थ्यो, तर यसपटकको खर्च बेहोर्न अवस्था छैन। चामल–दाल, चिनीदेखि लिएर सबैथोक महँगो भएको छ। चाडबाड आउँदा खर्च गरिन्छ तर त्यसको असर निकै पछिसम्म परिरहन्छ।'

corrent noodles
Metro Mart

सातदोबाटो ललितपुरमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएकी श्वेता दासले पनि यसपटकको दसैं एकदमै महँगो भएको बताइन्। उनले पछिल्ला वर्षहरुको तुलनामा यसपटक किराना सामानदेखि लुगा र जुत्ता पनि अचाक्ली महँगो भएको गुनासो गरिन्। दसैंको मुखमा चिनीको कालोबजारीले उनलाई झनै चिन्ता थपिदिएको छ। 'महिना मर्ने वित्तिकै घरमा स्टोर गरेको खाद्यान्न सकिन्छ। दसैंको मुखमै खाद्यान्न सामान किन्नुपरेको छ। यस्तो महँगाइ त यसअघि परेको थिएन। दसैंको बेला पनि भएर होला, सबै सामान महँगो भएको छ,' उनले भनिन्। चिनी १ किलो १५० रुपैयाँमा किनेको बताउँदै भनिन्, 'पसलेले १ किलोभन्दा बढी दिन नमानेपछि सम्भावित अभावलाई ध्यानमा राख्दै मिश्री किनेर ल्याएका छौं। १९ सयमा किन्ने चामल २७ सय तिरेर ल्याउनु परेको छ। प्याज किलाको १ सय पुगेको छ।'

gita-sharma-1697603936.jpg
झापा शनिश्चरेकी गीता शर्मा

श्वेताका अनुसार तोरीको तेल, मसुरोको दालदेखि गेडागुडीको समेत भाउ बढेको छ। 'सरकारले तोकेको भाउमा त कहाँ पसलेले दिन्छ र ? खुद्रा पसलमा जे सामानको पनि डेढ गुणासम्म अतिरिक्त दाम दिएर लिनुपर्ने हुन्छ। सरकारको अनुगमन पनि भन्नुमात्र हो। नभए त सातदोबाटो र हात्तीबनतिरको किराना पसलमा अनुगमन गरेमात्रै पनि दररेटको हेरफेर थाहा हुन्छ,' उनले भनिन्। मोरङ, विराटनगरस्थित रानी स्थायी घर भएकी श्वेताले यस पटक भान्सा महँगिएकोले खर्चमा कटौती गरेर दसैं मनाउने योजना रहेको बताइन्।  

हेटौंडाकी रेशमा पोखरेलका अनुसार दसैंमा काठमाडौंबाट बालबच्चासहित सबै घर आउँदैछन्। 'यस्तोमा महँगीलाई खासै ध्यान दिइँदैन तर सामान एकदमै महँगो भएको छ। ४० रुपैयाँ पर्ने प्याज नै ८० पुगेको छ भने अण्डा र मासुको पनि भाउ बढेको छ। चामल, चिनी र मर मसलाको दाम पनि धेरै बढेको छ,' उनले भनिन्, 'घरमा बालबच्चा परिवार भएपछि रमाइलो हुन्छ। तर महँगाइले गर्दा यस वर्ष भान्साको व्यवस्थापन निकै खर्चालु हुने भयो। चिनी, तेल, घ्यु पहिलेदेखि जोहो गरेर राखेको हुनाले त्यसको चिन्ता गर्न नपरे पनि चामल र अन्य खाद्यान्न महँगिएकोले चिन्ता बढेको छ।'

सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखे पनि साउन र भदौमै सीमा नाघेको छ। मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणमा यस्तो देखिएको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ। यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १३.०८ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवा १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा  ६.५९ प्रतिशतले मूल्य बढेको छ।

भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति शून्य.१८ प्रतिशतले घटेको छ। यो अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रकाशित: Oct 18, 2023| 11:17 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्