शनिबार, जेठ २३, २०८३

लालीखर्कमा फस्टाउँदै किवी खेती

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

ताप्लेजुङ- फुङ्लिङ नगरपालिका-११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो। विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क। विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो। तर अहिले किवीको बोट झांगिएर लालीखर्क भरिभराउ भएको छ।

National life

सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो। असोज, कात्तिक र मङ्सिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो। पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो। धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए।

लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजंगा गाउँपालिकाको मांमाखे पुगेको छ। यस पदमार्ग हुँदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन्। लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई गर्न थालेका छन्। लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन्। विगतमा यहाँ १३  होटल सञ्चालनमा थिए। अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताए।

'लालीखर्क पहिला जस्तो छैन। सुनसान छ। मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन्। गाईबस्तुका कारण म यतै छु। किन्ने कोही आए बिक्री गरेर जाने सोच छ', उनले भने।

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो। होटल बन्द भए। छरछिमेक घर छोडेर बसाई सरेर गए। पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो। पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका  छन्। घर भने त्यतिकै छ। घरमा होटलको साइनबोर्डसमेत देखन सकिन्छ। तर अहिले कहीँकतै एउटा गिलास चियार पनि पाइँदैन।

Shivam cement

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले। रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो। लिम्बूले किवी खेती विस्तार गर्न थाले। लालीखर्कका फाँटमा किवीको बोट झाकिन थाल्यो। सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको लिम्बूले बताए। यो साल पनि राम्रै फलेको उनले बताए।

उनले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो। अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताए। अर्को वर्ष भने राम्रो उत्पादन हुने संकेत देखिएको लिम्बूले बताए।

किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममालालीखर्क कृषि फार्म दर्ता गरेका छन्। फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले पाँच लाख रूपैयाँ अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ। अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरिएको लिम्बूले बताए।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन्। ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती गर्न थालेका छन्। किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा  माग निरन्तर बढ्दै गएको छ।

गत वर्ष ताप्लेजुङमा किवी सुरुमा प्रतिकिलो ६ सय रूपैयाँसम्म खरिद/बिक्री भएको किसानको भनाइ छ। फक्ताङलुङ गाउँपालिका-४ इखाबुका बुद्ध काम्बाङले किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए। शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ। किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था छ। रासस

प्रकाशित: Oct 14, 2023| 22:02 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्