बिहीबार, वैशाख २०, २०८१

शिक्षकको संघर्ष र सम्बन्धहरुको परिभाषा 'कौसीद'

कुमार भाष्करको निर्देशनमा बनेको फिल्म 'कौसीद' सामाजिक–पारिवारिक चलचित्र हो।
 |  शुक्रबार, असोज २६, २०८०

विजेता

विजेता

शुक्रबार, असोज २६, २०८०

ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित ‘कौसीद’ चलचित्र असोज २६ गते शुक्रबारदेखि देशव्यापी रुपमा रिलिज भएको छ। दसैंको संघारमा चलचित्र रिजिल गर्नुको पछाडि एउटै उद्देश्य यसलाई धेरैभन्दा धेरै दर्शकले हेरिदिउन् भन्ने हो।

triton college

कुमार भाष्करको निर्देशनमा बनेको फिल्म ’कौसीद’ सामाजिक–पारिवारिक चलचित्र हो जो सबै सँगै बसेर हेर्न सकिन्छ। चलचित्रमा एउटा सामान्य परिवारको खुशी, दुःख र संघर्षको कथालाई देखाइएको छ। जुन पूर्णरुपमा वास्तविक रहेको निर्देशक भाष्कर बताउँछन्। यसअघि सार्वजनिक गरिएको टिजरलाई पनि दर्शकहरुले निकै रुचाइदिएका छन्।

चलचित्रमा एक शिक्षक पिताले परिवारको खुशीका लागि गर्ने संघर्षमात्रै होइन, कौसीद। यसमा बैंकले दिने ऋण र त्यसपछिको ताकेता, मिटरब्याजको फन्दा र यसले दिने मानसिक पीडाको कथा छ। जुन घर–घरको कथा–व्यथा हो निश्चय। त्यतिमात्रै नभएर एउटा शिक्षकले सिस्टमसँग लड्ने लडाइँ पनि यसको प्रमुख मुद्दा हो।

संयोग नै भन्नु पर्छचलचित्रले उठाएको विभिन्न मुद्दाहरु यतिबेला ज्वलन्त छ। भर्खरमात्रै शिक्षकहरुले काठमाडौंको सडकमा आन्दोलन गरेर शहरको सञ्चार नै एकप्रकारले अवरुद्ध बनाएका थिए। सरकारले पनि चिताएको थिएन होला शिक्षकको मानव भेल यसरी उर्लेर आउने छ। 

एउटा शिक्षक र पिताको मुख्य भूमिकामा रहेका भोलाराजले भने, ‘चलचित्रमा हामीले नभएका कुरा गरेका होइनौं। समाजमा जे कुरा भइरहेको छ त्यसैलाई पर्दामा उतारेका छौं। अस्ति शिक्षकहरु सडकमा आए र आन्दोलन गरे, प्रत्यक्ष अप्रत्यक्ष रुपमा बच्चाहरुले पनि बुझे की हाम्रा शिक्षकहरु काठमाडौंमा सडकमा आन्दोलन गर्न गएका छन्। कति शिक्षकहरु भाइरल पनि भए। शिक्षकको आन्दोलन पो अहिले भएको हो, शिक्षकहरुभित्रको असन्तुष्टि त पहिलेदेखि थियो अथवा मिटरब्याजले पहिलेदेखि पोलिरहेको थियो, यतिखेर साक्षात्कार भएर देखिएको मात्र हो। राजनीति नसुध्रिएसम्म यो अवस्था रहिरहन्छ। त्यहि भएर यो एकदमै सुहाउँदो विषय हो। परिवारमा एउटा बुवाले भोगिरहेको उतार–चढाव बच्चाले पनि बुझिरहेको हुन्छ। हामीले त्यही चरित्रलाई पर्दामा उतारेका मात्रै हौं।’

corrent noodles
Metro Mart

यस विषयमा युवा निर्देशक भाष्कर भन्छन्, ‘मौलिक कथावस्तु उठाउनुको सुखद् पक्ष के हुँदो रहेछ भने आज बनाएको चिज अर्को ६ महिना अथवा केही वर्षपछिसम्म पनि बासी हुँदैन। मेरो काका शिक्षक हुनुहुन्छ, म सानो छँदा उहाँको जुन संघर्षको अवस्था देखेको थिएँ आजको शिक्षकको अवस्था पनि उस्तै छ।’ 

चलचित्रमा समावेश ‘नझर्थेर आँशु’ बोलको गीत सार्वजनिक भइसकेको छ। मार्मिक उक्त गीतले पनि परिवारको खुशीको लागि पिताले गर्ने संघर्षलाई अभिव्यक्त गर्छ। गीतमा बुद्ध लामाको स्वर तथा संगीत रहेको छ भने गीत लक्ष्मण बानियाँले लेखेका छन्।

समाजिक विषयवस्तुमाथि यति बेला चलचित्र निर्माणको क्रम बढेको छ। भोलाराज भन्छन्, ‘हाम्रो कथावस्तुले युवा, बुढा बच्चा भन्दैन यो ऋण वा पैसासँग सम्बन्धीत कुरा हो। एउटा बाबुलाई ऋण लागिरहेको छ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा छोराछोरीलाई सेयर गरिन्छ। परिवारले बुझ्न सक्छन्, समाजसँग हामी अछुतो छैनौ, पैसासँग हामी अछुतो छैनौ। त्यहि भएर यस्तो विषय उठाएका हौं।

चलचित्रको नाम ‘कौसीद’ राख्नुको पछाडिको कारण बताउँदै निर्देशक भाष्करले भने, ‘पहिलो चलचित्र निर्देशन गर्र्दैै थिएँ, केही नयाँ सोच र नयाँ कुरा ल्याउने उत्साह र उर्जा थियो नै। हामीले सामाजीकता झल्किने र पस्किने खाले चलचित्र निर्माण गर्ने की, टिनएजरको प्रेम प्रसंगलाई देखाउने अथवा विदेशी एक्सन देखाउने भन्ने थियो। खासमा मौलिक कथावस्तुसँग जोडिएको चलचित्र बनाउने सोच थियो। सामाजिक विषयलाई उठायो भने प्रभावकारी होला भनेर हामीले उक्त विषयको चयन गरेका छौं। कौसीद वास्तवमा संस्कृत शब्द हो, जसले ऋणलाई बुझाउँछ। चलचित्रको सेरोफेरो पनि ऋण र त्यसले जेलिएको व्यक्तीको कथा भन्दैथियो। अब त्यलिाई बुझाउने शब्द कुन उपयुक्त होला भन्दा कौसीद आएको हो। 

निर्देशक कुमार भाष्करले निर्देशन गरेको यो पहिलो चलचित्र हो। यद्यपि उनको निर्देशनमा परिपक्वता देखिन्छ। पारिवारिक पृष्ठभूमि साहित्यिक रहेको प्रभाव भाष्करको निर्देशनमा समेत देख्न सकिन्छ। उनले दृश्यहरुलाई निकै कलात्मक ढंगले खिचेका छन्। शिक्षक र साइकलको सम्बन्ध नै पनि पूरक जस्तो लाग्छ, जसलाई राम्रोसँग फ्रेममा उतारिएको छ। यसलाई झनै कलात्मक बनाएका छन् विभिन्न चरित्रहरुले।

भोलाराज भन्छन्, ‘शिक्षक र साइकल किन जोडिएर आएको छ त्यो अहिले नभनौ, चलचित्र हेर्दा त्यसको मजा आउँदैन। रात छ र दिनको महत्व छ भनेझै चलचित्रमा पनि मैले निभाएको शिक्षक पात्र र साइकलको सम्बन्ध उस्तै छ।’ 

शिक्षक र पिताको भूमिकामा भोलाराजको चयन एकदमै उपयुक्त साबित भएको छ। उनको अभिनय वास्तविक लाग्छ। यस विषयमा भाष्कर भन्छन्, ‘चलचित्रमा कम उमेरकोलाई ठूलो देखाउनुमा चुनौति हुन्छ तर चरित्र र कलाकारको उमेर उस्तै हुँदा न्याय गर्न सकिन्छ। ऋचा शर्मा र भोलाराजको वास्तविक उमेर पनि चरित्रसंग मेल खाने भएकोले पनि दुबैले कथा र चरित्रलाई चाहिने भन्दा एक प्वाइन्ट बढी नै न्याय र सहयोग गर्नु भएको छ। 

मुख्य चरित्रमा देखिएका भोलाराज भन्छन्, ‘सबै कलाकालरलाई मैले राम्रो गर्न सकौं भन्ने लोभ हुन्छ। अनि अर्को चुनौति के हुन्छ भने मैले पहिले गरिरहेको वा गरिसकेको काम नदोहोरियोस्। यसले पहिले पनि यस्तै काम गरेको थियो भन्नु एउटा कलाकारको लािग राम्रो होइन। 

निर्माता–निर्देशकले एउटा ऋणमा फसेको शिक्षकको चरित्र निभाउने मौका दिनुभयो जो आफैंमा चुनौति हो। चलचित्रको ड्राइभर र बोस भनौ त्यो निर्देशक नै हो र निर्देशकलाई आफ्नो कामबाट खुशी बनाउनु मेरो चुनौति हो। मेरो मात्र नभएर समग्र कलाकारकै चुनौति भनेको नयाँ पात्र आयो भने न्याय गर्ने हुन्छ। र मैले शिक्षक पात्रसँग न्याय गरेको महसुस गरेको छु। 

निर्देशक भाष्कर भन्छन्, ‘परिपक्व कलाकारसँग काम गर्ने अनुभव राम्रो र सहयोगी रह्यो। कुनै डाइलगलाई यसरी गर्दा हुन्छ की यसरी गरौं भनेर दुई–तीन तरिकाले गरेर ओके हुन्थ्यो। हाम्रो बीचको केमेस्ट्री र ट्युनिगं चलचित्रमा पनि देखिन्छ नै। 

बक्स अफिस बनाउने की कथावस्तुलाई कालजयी बनाउने भन्ने थियो। यदि चलचित्र बक्स अफिसमा चलेन भने पनि कथावस्तुले गर्दा पछि स्मरण गरिन्छ। त्यस्तो उदाहरण हामीसंग थुप्रै छ। कतिपय चलचित्रमा बक्स अफिसले भयानक दर्शक ल्याइदिए पनि पछि त्यो सम्झिन लायकको हुँदैन। हामीले मौलिकतालाई बढी प्राथमिकता दिएका छौं। बक्स अफिसमा नचलेको कतिपय चलचित्र पछि कालजयी भएको उदाहरणहरु पनि थुप्रै छन्। चलचित्रमा समग्रमा सबै तथ्य बास्तविक छ भने थोरै काल्पनिकतालाई फरक ढंगले देखाएका छौं।

चलचित्रमा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय छ। केदार भुसालको निर्माणमा तयार भएको फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन्।

यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ। बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आरआर फिल्म्सले वितरणको अधिकार लिएको छ।


हेर्नुस् ट्रेलर

प्रकाशित: Oct 13, 2023| 11:26 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्