काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्व दसैं–तिहारको मुखैमा सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीले दबाब दिइरहेको खुलासा गरेका छन्।
आज सिंहदरबारमा बसेको पूर्वाधार विकास समिति बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै मन्त्री ज्वालाले यातायात व्यवसायीले भाडा बढाउन लबिइङ गरिरहेको बताएका हुन्।
दसैं–तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने व्यवसायीले भाडावृद्धिको माग राखेर दबाब दिए पनि बढाउन नसकिने जवाफ पठाएको उनको भनाइ छ।
’दसैं–तिहार, छठजस्ता मुख्य चाडपर्वमा गाउँघर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर छ। सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैंअघि नै मुख्य–मुख्य राजमार्ग मर्मत अघि बढाएको छ। सहज यात्राका लागि दसैं–तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीसँग नियमित बैठक, तयारी गरिरहेको छ। तर, यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेका छन्। हुँदैन भनेको छु’, उनले भने।