शनिबार, जेठ २३, २०८३

अख्तियारमा २८ हजारभन्दा बढी उजुरी, १६२ विरुद्ध मुद्दा दर्ता 

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९–८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ। साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा १६२ वटा मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार राष्ट्रपतिलाई पेश गरेको वार्षिक प्रतिवेदनमा ६५६ वटा उजुरी भने तामेलीमा राखिएको उल्लेख छ। यस्तै ६३ वटा सम्बद्ध निकायहरूलाई सुझाव दिइएको छ भने २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानिसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेका छन्। उल्लिखित आरोपपत्रहरूबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब, सतहत्तर करोड, अन्ठाउन्न लाख, छयालिस हजार, चार सय सैंतीस रुपैयाँ बिगो मागदाबी लिइएको दाहालले बताए।

उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.९५ प्रतिशत रहेका छन्। त्यसपश्चात, क्रमशः शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासन ६.०९ प्रतिशत, वन तथा वातावरण ४.१४ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.१२ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात ४.१० प्रतिशत, गृह प्रशासन ३.५८ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्य २.७१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ २.५८ प्रतिशत, खानेपानी तथा शहरी विकास २.५१ प्रतिशत, अर्थ १.८९ प्रतिशत, कृषि तथा पशुपन्‍क्षी १.५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित १.०३ प्रतिशत उजुरी रहेको दाहालले बताए। 

त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्र ६.०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरीहरू ३.०९ प्रतिशत रहेका छन्। आयोगले आजै आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।

Shivam cement

यस अवधिका उजुरीमध्ये १८ हजार ७९९ वटा उजुरी अर्थात् ६६.९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन्। जसमध्ये ११३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीको लागि लेखी पठाइएको दाहालले बताए।

प्रारम्भिक छानबिनको क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले बताए।

प्रकाशित: Oct 02, 2023| 19:05 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्