मंगलबार, वैशाख २९, २०८३

भोटखोलामा विद्युत राष्ट्रिय प्रसारणलाइन जोडियो

 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

किमाथांका- सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ। उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् बालिएको हो। दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ। 

National life

विद्युत् प्रसारण लाइन पुगेपछि भोटखोला–४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभाका प्रमुख सञ्जीव कर्णले बताउनुभयो। गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ थियो। 

निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताउनुभयो। उहाँका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्‍याउने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो। 

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ। खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ । सङ्खुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। 

प्रकाशित: Sep 30, 2023| 20:00 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्