म्याग्दी– चालू शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ। विश्वको सातौं अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ।
सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो।
शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए। रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरेको शेर्पाले बताए।
सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुुचुरोमा पुगेका छन्। विभिन्न टे«किङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ। गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा ८६ लाख २४ हजार तीन सय ३० शुल्क संकलन भएको थियो।
पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालू यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका ४३६ जनाले अनुमति लिएका छन्। उनीहरुबाट ४ करोड १० लाख १४ हजार ७९७ रोयल्टी प्राप्त भएको छ।
वसन्तयाममा नेपालका २८ हिमाल आरोहण गरेका १ हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ। शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ। अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ।
शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका तीन सय एक जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो।
हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ जना, खयाङ ६छजना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन्।–रासस